अमेरिकाले भेनेजुएलाको समुद्री किनारनजिकै एउटा विशाल तेल बोक्ने जहाज (ट्याङ्कर) नियन्त्रणमा लिएको छ । यो घटनासँगै लामो समयदेखि चिसिएको दुई देशबीचको सम्बन्ध झन् तनावपूर्ण बनेको छ ।
अमेरिकी महान्यायाधिवक्ता प्याम बन्डीले उक्त जहाज अवैध काममा प्रयोग भएको दाबी गरेकी छन् । उनका अनुसार यो जहाज भेनेजुएला र इरानबीच तेल ओसारपसार गर्ने र विदेशी आतंकवादी संगठनहरूलाई सघाउने ‘अवैध नेटवर्क’ मा सामेल थियो ।
यता भेनेजुएलाले भने अमेरिकाको यो कामलाई ‘अन्तर्राष्ट्रिय डकैती’ को संज्ञा दिएको छ । भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डिओस्डाडो काबेलोले अमेरिकालाई ‘हत्यारा, चोर र डाँका’ भन्दै आक्रोश पोखेका छन् । भेनेजुएला सरकारले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले आफ्नो देशको तेल र ऊर्जा स्रोत लुट्ने योजना बनाएको आरोप लगाएको छ ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो अहिलेसम्मकै सबैभन्दा ठूलो जहाज कब्जा गरिएको बताए । ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई ‘खराब शासक’ र लागुऔषध तस्करको नाइके भन्दै आएका छन् । मदुरोको पक्राउमा सहयोग पुग्ने सूचना दिनेलाई अमेरिकाले ५ करोड डलर पुरस्कार दिने घोषणा समेत गरिसकेको छ ।
पछिल्लो समय अमेरिकाले भेनेजुएला वरपरको समुद्रमा ‘अपरेसन सदर्न स्पेअर’ नामको सैन्य कारबाही चलाइरहेको छ । लागुऔषध तस्करी रोक्ने भन्दै चलाइएको यो अभियानअन्तर्गत सेप्टेम्बरयता अमेरिकी सेनाले २३ वटा जहाजमा आक्रमण गरिसकेको छ भने ८४ जनाको मृत्यु भइसकेको छ ।
राष्ट्रपति ट्रम्पले अब समुद्रपछि जमिनतर्फ पनि ध्यान केन्द्रित गर्ने बताएका छन्, जसले भेनेजुएलामा थप सैन्य कारबाही हुनसक्ने संकेत गरेको छ । अमेरिकाले तेल जहाज कब्जा गरेको खबर बाहिरिएसँगै विश्व बजारमा तेलको मूल्य सामान्य बढेको छ ।