काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगरलाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन बनाएको हो ।
लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ४५ रन बनाए । उनले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । रोहित ३४ रनमा आउट भए ।
दिनेश अधिकारी १, निरोशन डिक्वेला २९, सन्दीप जोरा ०, जेजे स्मिथ ०, दिलिप नाथ १ र शेर मल्ल ७ रनमा आउट भए । अभिषेश गौतम २ र रुवेन ट्रम्पलम्यान ११ रनमा अविजित रहे ।
बलिङमा विराटनगरका सुवाश भण्डारी र प्रतिश जिसीले ३–३ तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।
यो लक्ष्य पूरा गरे विराटनगरले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्न पाउनेछ ।