• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। बिहीबार त्रिवि क्रिकेट रंगशालामा भएको दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

पहिले ब्याटिङमा आएको लुम्बिनीले विराटनगरलाई १३५ रनको लक्ष्य दिएको थियो । तर लक्ष्य पछ्याउने क्रममा विराटनगर १७.५ ओभरमा ९४ रनमै अलआउट हुन पुग्यो। विराटनगरका कुनै पनि ब्याटरहरू चल्न सकेनन्। विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ३४ रन रन बनाउँदा मार्टिन गप्टिल २ र फाफ डू प्लेसिस ३ रनमै आउट भए । लोकेश बम गोल्डन डक भए भने शंकर राना पनि ७ रनमै सीमित रहे ।

लुम्बिनीका ब्याटरहरुलाई सस्तोमै समेट्न तिलक भण्डारीले समान ३ विकेट लिए । यस्तै, अभिषेश गौतम, जेजे स्मिथ र रुबेन ट्रम्पेलमनले समान २/२ विकेट लिए भने शेर मल्लको नाममा १ विकेट रह्यो ।

लुम्बिनीका लागि ब्याटिङतर्फ डार्शी शर्टले ४५ रन र रोहितकुमार पौडेलले ३४ रनको योगदान गरे।

विराटनगरका लागि भने सुवास भण्डारी र प्रतिश जिसीले ३/३ र कप्तान सन्दीप लामिछानेले २ विकेट लिएका थिए।

आजको जितसँगै लुम्बिनेले आउँदो शनिबार उपाधिका लागि साबिकको उपविजेता सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो वर्ष फाइनलमा स्थान बनाएको हो।