• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

जेनजी आन्दोलनबाट ८४ अर्बको क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब आवश्यक

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ८४ अर्ब ४५ करोड ७७ लाख बराबरको भाौतिक सम्पत्तिको क्षति भएको छ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउँदै यसबारे उल्लेख गरेको हो ।

राष्ट्रिय योजना आयोगका सचिव तथा समितिका संयोजक रविलाल पन्थले सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रतिवेदन बुझााउँदै सो क्षतिको आँकडा पस्तुत गरेका हुन् ।

समितिका अनुसार जेनजी आन्दोलनका कारण सातै प्रदेशका ५४ जिल्ला र २६२ स्थानीय तह प्रभावित भएका छन् । भदौ २३ गते २० जना, २४ गते ३७ जना र सोपछि थप २० जनासहित आन्दोलनमा कूल ७७ जनाको ज्यान गएको प्रतिवेदनमा उल्लेख छ । २ हजार ४२९ जना घाइतेमध्ये १७ जना १३ वर्षमुनि र १३ देखि २८ वर्ष उमेर समूहका १,४३३ जना रहेका छन्।

समग्र भौतिक क्षतिबाट ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको नोक्सान भएको समितिको मूल्यांकन छ । यसमा प्रभावित निकाय र संस्थाका २ हजार१६८ वटा स्थानहरू रहेका छन्। २ हजार ६७१ वटा भवनहरूमा क्षति पुगेको र यसको मूल्य ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, १२ हजार६५९ वटा सवारीसाधन क्षतिग्रस्त भएका छन्, जसको कुल क्षतिको मूल्य १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ छ । सरकारी तथा सार्वजनिक क्षेत्रको क्षति ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबर पुगेको छ भने निजी क्षेत्रको क्षतिको मूल्यांकन ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ रहेको छ । सामुदायिक तथा अन्य क्षेत्रको क्षति ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँ रहेको प्रतिवेदनले देखाएको छ ।

सरकारी क्षतिको वितरण अनुसार संघीय सरकारको हिस्सा ६८ प्रतिशत, प्रदेश सरकारको १० प्रतिशत र स्थानीय तहको २२ प्रतिशत रहेको छ ।

समितिले पुनर्निर्माण कार्ययोजना पनि तयार पारेको छ। उक्त योजनाअनुसार क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि कूल ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।