• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भ्रष्ट्राचारविरुद्धको आन्दोलनले बुल्गेरियामा सत्तापलट, जनता सडकमा उर्लिएपछि ढल्यो सरकार

भ्रष्टाचार र सरकारका आर्थिक नीतिविरुद्ध जनता सडकमा ओर्लिएपछि बुल्गेरियाका प्रधानमन्त्री रोजेन जिल्याज्कोभले राजीनामाको घोषणा गरेका छन्। विपक्षीले संसदमा अविश्वासको प्रस्ताव पेस गर्नुअघि नै प्रधानमन्त्रीले राष्ट्रिय टेलिभिजनमार्फत आफ्नो राजीनामा घोषणा गरेका हुन्।

सरकार बनेको एक वर्ष नपुग्दै देशका प्रमुख सहरहरूमा हप्तौंदेखि जारी जनप्रदर्शनका कारण सरकार ढल्न पुगेको हो।

प्रधानमन्त्री जिल्याज्कोभले सम्बोधनका क्रममा भने, ‘हामी समाजले अपेक्षा गरेको स्तरमा रहन चाहन्छौं। सत्ता जनताको आवाजबाट प्राप्त हुन्छ। सबै उमेर, जातजाति र धर्मका मानिसहरूले सरकारको राजीनामा माग गरेका छन्। यो नागरिक ऊर्जालाई सम्मान गरिनुपर्छ।’

सत्तारुढ गठबन्धनको बैठकपछि उनले देशको वर्तमान अवस्था, चुनौती र जिम्मेवारीपूर्ण निर्णय लिनुपर्ने आवश्यकता महसुस गर्दै यो कदम चालेको बताएका छन्। आगामी जनवरी १ देखि बल्गेरिया युरोजोन (युरो मुद्रा प्रयोग गर्ने क्षेत्र) मा प्रवेश गर्ने तयारीमा रहेको समयमा यो राजनीतिक उथलपुथल भएको हो।

सरकारको राजीनामा माग्दै राजधानी सोफिया र अन्य सहरहरूमा बुधबार साँझ हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार ड्रोन फुटेजको विश्लेषण गर्दा करिब ७० लाख जनसंख्या भएको देशमा १ लाखभन्दा बढी मानिस सडकमा देखिएका थिए।

प्रदर्शनकारीहरूले ‘राजीनामा दे’, ‘म वाक्क भइसकें’ जस्ता नारा लेखिएका प्लेकार्ड र नेताहरूको व्यंग्यचित्र बोकेका थिए। २४ वर्षीया गेर्गाना गेल्कोभाले समाचार संस्था एएफपीसँग भनिन्, ‘भ्रष्टाचार अब असह्य भइसक्यो।’

प्रदर्शनको तत्कालको कारण सरकारले ल्याएको बजेट योजना थियो, जसमा कर वृद्धि, सामाजिक सुरक्षा योगदानमा बढोत्तरी र सरकारी खर्च बढाउने प्रस्ताव गरिएको थियो। यद्यपि सरकारले उक्त मस्यौदा फिर्ता लिए पनि जनताको आक्रोश मत्थर भएन। प्रदर्शनकारीहरूले यसलाई व्यापक भ्रष्टाचार लुकाउने प्रयासको रूपमा अर्थ्याएका थिए।

बुल्गेरिया युरोपेली संघ (ईयू)को सबैभन्दा गरिब राष्ट्र हो र ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचकांकमा पुछारतिर पर्छ। ईयूले पनि यहाँको कानुनी शासन र भ्रष्टाचार नियन्त्रणको प्रयास कमजोर रहेको भन्दै पटक–पटक चेतावनी दिँदै आएको छ।

बुल्गेरियामा विगत चार वर्षमा सात पटक निर्वाचन भइसकेको छ। अब राष्ट्रपति रुमेन रादेभले संसदमा रहेका दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्। यदि दलहरू असफल भएमा अन्तरिम सरकार गठन हुनेछ र देश आठौं निर्वाचनतर्फ धकेलिनेछ।

यो अस्थिरताको पछाडि पूर्व सञ्चार मल्ल डेल्यान पिवस्कीको प्रभावलाई पनि प्रमुख कारण मानिएको छ। अमेरिका र बेलायतले भ्रष्टाचारको आरोपमा प्रतिबन्ध लगाएका पिवस्कीले सरकारको नीतिमा ओलिगार्क (धनाढ्य वर्ग) को हितमा प्रभाव पार्ने गरेको आरोप प्रदर्शनकारीहरूको छ।

राष्ट्रपति रादेभले पनि सरकारलाई राजीनामा दिन आग्रह गर्दै भनेका थिए, ‘जनताको आवाज र माफियाको डर बीचमा एउटा रोज्नुपर्छ। सार्वजनिक चोकहरूको आवाज सुन।’

– अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा ।