• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गल्कोट स्पोर्ट्स क्लब टोकियोको अध्यक्षमा रमेश कुमार खत्री निर्वाचित

टोकियो, जापान । जापानमा क्रियाशील नेपालीहरूको खेलकुद संस्था गल्कोट स्पोर्ट्स क्लब टोकियोको छैठौँ अधिवेशन सम्पन्न भएको छ। डिसेम्बर ९ तारिख सोमबार टोकियोको ओकुबोस्थित सोलमारी मुरा हलमा भएको अधिवेशनले आगामी कार्यकालका लागि रमेश कुमार खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सन् २०१५ मा स्थापना भएको यो क्लबले प्रवासमा रहेर पनि खेलकुदको माध्यमबाट नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्ने काम गर्दै आएको छ।

निर्वाचन समितिका संयोजक लक्ष्मण कार्कीका अनुसार, नवनिर्वाचित अध्यक्ष खत्री क्लबको स्थापनाकालदेखि नै सक्रिय रहँदै आएका छन्। उनले यसअघि सदस्य, सह–कोषाध्यक्ष, कोषाध्यक्ष र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन्।

बाग्लुङको गल्कोटवासी मात्र नभएर जापानलाई कर्मथलो बनाएका सम्पूर्ण नेपाली खेलप्रेमीहरूको साझा मञ्चको रूपमा स्थापित यस क्लबले विशेष गरी नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धनमा २०१५ देखि नै निरन्तर योगदान पुर्‍याउँदै आएको छ। हालै मात्र क्लबले १०औं सिल्भर रनिङ कप खुला पुरुष भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको थियो।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा चर्चित भलिबल खेलाडी गणेश खत्री सर्वसम्मत चयन भएका छन्। निर्वाचन समितिका सदस्य डिलाराम निउरेका अनुसार अन्य पदाधिकारीहरूमा उपाध्यक्षत्रय दिनेश थापा, सुरज केसी र खिम निउरे, महासचिवमा नारायण थापा, सचिवद्वय पवन शर्मा र किरण गौतम तथा कोषाध्यक्षमा कुशल भण्डारी निर्वाचित भएका छन्।

यसैगरी सह–कोषाध्यक्षमा दिपक क्षेत्री (खिम) र पवन क्षेत्री चयन भएका छन्। सदस्यहरूमा प्रेम पुन, कृष्ण बोहरा, विशाल उप्रेती (क्षेत्री), शिवराज कार्की, रोशन बस्नेत (बेलु) र राजु क्षेत्री रहेका छन्। खेल संयोजकमा विजय बस्नेत र लेखा संयोजकमा झंक बहादुर बस्नेत निर्वाचित भएका छन्।

निर्वाचन मण्डलमा संयोजक लक्ष्मण कार्की तथा सदस्यहरूमा डिलाराम निउरे, हिरा शेरचन र अमर भण्डारी रहेका थिए भने सदस्य सचिवको भूमिका महेन्द्र साहनीले निर्वाह गरेका थिए।

निवर्तमान अध्यक्ष दुर्गा खत्रीको सभापतित्व र महासचिव दिनेश थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा गल्कोट समाज जापानका अध्यक्ष रत्नसिंह बस्नेत प्रमुख अतिथि थिए। विशिष्ट अतिथिका रूपमा एनआरएनए जापानका अध्यक्ष सुवास लामिछाने, नेपाल भलिबल संघ जापानका अध्यक्ष सिद्धार्थ बस्नेत (बुद्ध), पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

सो अवसरमा खेलकुद क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। नवनिर्वाचित कार्यसमितिले विगतका कमीकमजोरीको समीक्षा गर्दै आगामी दिनमा संस्थाका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।