• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

को हुन् थपिएका ४ नयाँ मन्त्री, कसले कुन मन्त्रालय पाए ?

काठमाडौं । तीन महिनाअघि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको मन्त्रिपरिषद् चौथो पटक विस्तार भएको छ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा नियुक्त चारजना नयाँ मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अपराह्ण शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन्।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्‌मा कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईँ र श्रद्धा श्रेष्ठलाई नयाँ मन्त्रीका रूपमा नियुक्त गरेकी हुन्। यससँगै प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्‌ सदस्यको संख्या १४ पुगेको छ। प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा र खानेपानी गरी तीन मन्त्रालय भने आफैँसँग राखेकी छन्।

कार्यविभाजन तथा हेरफेर

शुक्रबार विस्तार गरिएको मन्त्रिपरिषद्‌मा नवनियुक्त मन्त्रीहरूको कार्यविभाजन यसप्रकार रहेको छ:

श्रद्धा श्रेष्ठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

माधव चौलागाईँ : वन तथा वातावरण मन्त्रालय

राजेन्द्रसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

कुमार इङ्नाम : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

यसैगरी, मन्त्रिपरिषद् विस्तारसँगै प्रधानमन्त्रीले केही मन्त्रालय हेरफेर समेत गरेकी छन्। यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दै आएका मन्त्री अनिलकुमार सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

को हुन् नयाँ मन्त्रीहरू ?

१. कुमार इङ्नाम : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका इङ्नाम काठमाण्डू स्कूल अफ ल (KSL) मा अन्तर्राष्ट्रिय व्यापार कानुन प्राध्यापन गर्छन्। यसअघि उनले इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा पनि प्राध्यापन गरेका थिए।

२. राजेन्द्रसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्ने भण्डारी नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक (AIG) हुन्। उनी बैतडी निवासी हुन्।

३. माधव चौलागाईँ : वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका चौलागाईँ जुम्लाका हुन्। थाइल्यान्डबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेका उनी कर्णालीका मुद्दामा कलम चलाउने लेखकसमेत हुन्। उनको कृति ‘सपादलक्ष कर्णाली’ र चर्चित गीतिकविता ‘म माण्ठ हुँ… जुरुक्क कर्णाली’ ले उनलाई चिनाएको छ।

४. श्रद्धा श्रेष्ठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाएकी श्रेष्ठले नेपाल पर्यटन बोर्डमा वरिष्ठ प्रबन्धकका रूपमा काम गरेकी छन्। उनले बोर्डअन्तर्गतको दिगो पर्यटन परियोजनामा राष्ट्रिय निर्देशकको भूमिका निर्वाह गरेकी थिइन्। काठमाडौं निवासी श्रेष्ठले अमेरिकाबाट अर्थशास्त्र अध्ययन गरेकी छन्।

२०८२ भदौ २७ गते गठित यो अन्तरिम सरकारको यो चौथो विस्तार हो। यसअघि पहिलो चरणमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बनेका थिए।

दोस्रो विस्तारमा अनिलकुमार सिन्हा, मदन परियार, महावीर पुन र जगदीश खरेल थपिएका थिए भने तेस्रो पटक डा. सुधा गौतम र बब्लु गुप्ता मन्त्री बनेका थिए।

संविधानतः प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री बनाउन सकिने व्यवस्था भए पनि प्रधानमन्त्री कार्कीले सुरुमा सानो आकारको (११–१२ सदस्यीय) मन्त्रिपरिषद् बनाउने बताएकी थिइन्।