विश्वविख्यात फुटबलर लियोनेल मेसीको भारत भ्रमणको सुरुवात शनिबार कोलकाताबाट भयो, तर सल्ट लेक स्टेडियममा भएको अव्यवस्थाले कार्यक्रम खल्लो बन्यो। स्टेडियमबाट बाहिरिएका भिडियोहरूमा आक्रोशित दर्शकहरूले बोतल र कुर्सीहरू फालिरहेको दृश्य देखिएको छ।
रिपोर्टहरूका अनुसार मेसी कार्यक्रमबाट चाँडै निस्किएको र उनलाई राम्रोसँग देख्न नपाएको भन्दै प्रशंसकहरू आक्रोशित भएपछि त्यहाँ हंगामा मच्चिएको थियो।
मुख्य आयोजक पक्राउ, पैसा फिर्ताको वाचा
हंगामापछि पश्चिम बंगाल पुलिसले स्थिति नियन्त्रणमा लिएको छ। पुलिसका एडीजी (कानून र व्यवस्था) जावेद शमीमका अनुसार कार्यक्रमका मुख्य आयोजकलाई पक्राउ गरिएको छ।
उनले भने, “अहिले अवस्था सामान्य छ, घटनाको एफआईआर दर्ता भइसकेको छ र छानबिन चलिरहेको छ। आयोजकले फ्यानहरूको टिकटको पैसा फिर्ता गर्ने वाचा गरेका छन्, हामी हेर्दैछौं यो कसरी कार्यान्वयन हुन्छ।”
निराश एक प्रशंसकले भने, “टिकटको न्यूनतम मूल्य ५ हजार भारु थियो। भिभिआइपीहरूले घेरेका कारण हामीले मेसीलाई देख्न पनि पाएनौं। पुलिसले पनि केही गरेन, हामीलाई हाम्रो पैसा फिर्ता चाहिन्छ।” दार्जिलिङदेखि आएका अर्का एक प्रशंसकले पनि मेसीलाई देख्न नपाएकोमा गहिरो दुःख व्यक्त गरे।

ममताको माफी, भाजपाको निशाना
घटनापछि पश्चिम बंगालको राजनीति तातिएको छ। मुख्यमन्त्री ममता बेनर्जीले स्टेडियममा भएको ‘अव्यवस्था’ प्रति दुःख व्यक्त गर्दै माफी मागेकी छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “हजारौं खेल प्रेमीहरूसँगै म पनि मेसीलाई हेर्न स्टेडियम जाँदै थिएँ। त्यहाँको अव्यवस्था देखेर म हैरान छु।” उनले घटनाको विस्तृत छानबिन गर्न मुख्य सचिवको नेतृत्वमा एक समिति गठन गर्ने घोषणा गरेकी छन्।
यता, विपक्षी भारतीय जनता पार्टी (भाजपा) ले भने ममता बेनर्जीको आलोचना गरेको छ। भाजपा प्रवक्ता अमित मालवीयले मुख्यमन्त्रीको भनाइलाई ‘गोहीको आँसु’ को संज्ञा दिएका छन्। उनले भने, “यो कुप्रबन्धन र भ्रष्टाचार तपाईंको सरकारको हरेक काममा फैलिएको छ। तृणमूल कांग्रेसले फुटबल प्रेमीहरूको अपमान गरेको छ।”
मेसीको यो भ्रमणमा प्रशंसकहरूका लागि उनीसँग भेट्ने र फोटो खिच्ने विशेष व्यवस्था गरिएको छ, जसको टिकट मूल्य निकै महँगो छ। ‘मेसी टुर मिट-एण्ड-ग्रिट’ को टिकटका लागि १० लाख भारतीय रुपैयाँ तोकिएको छ।
१० लाखको टिकटमा के पाइन्छ?
– मेसीसँग व्यक्तिगत भेट र हात मिलाउने मौका।
– मेसीसँग ग्रुप फोटो (एउटा फोटोमा ६ जना)।
– खाना र पेय पदार्थको सुविधा।
– हस्पिटालिटी क्याटेगोरीको म्याच टिकट।
नेपाली फ्यानको उत्साह
मेसीलाई हेर्न नेपालबाट समेत फ्यानहरू कोलकाता पुगेका थिए। पोखराबाट आएका आयुषले भने, “म सानैदेखि मेसीको फ्यान हुँ। उनी २०२६ को विश्वकप पनि खेल्छन् भन्ने मलाई विश्वास छ।”
करिब डेढ दशकपछि भारत आएका मेसीको स्वागतका लागि कोलकातामा ७० फिट अग्लो प्रतिमा समेत बनाइएको थियो। तर, पहिलो दिनको खराब व्यवस्थापनले भ्रमणको सुरुवात नै विवादित बन्न पुगेको छ।
–भारतीय सञ्चारमाध्यमको सहयोगमा