काठमाडौँ । इजरायलले गाजामा गरेको ड्रोन आक्रमणमा हमासका वरिष्ठ कमान्डर रायद सईद मारिएको दाबी गरेको छ। दक्षिणी गाजामा भएको आक्रमणमा सईदको मृत्यु भएको इजरायली सेनाले बताएको छ। यद्यपि, हमासले आफ्ना कमान्डर मारिएको विषयमा औपचारिक पुष्टि गरेको छैन।
हमासका अनुसार इजरायली ड्रोनले गाजा सहरको नबुलसी जंक्शन नजिकै सर्वसाधारण सवार एउटा गाडीलाई निशाना बनाएको थियो। उक्त आक्रमणमा ५ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको हमासले जनाएको छ।
इजरायली डिफेन्स फोर्स (आईडीएफ) का अनुसार सईद गाजा सहरमा लुकेर बसेको गोप्य सूचना प्राप्त भएपछि उनलाई निशाना बनाइएको हो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आदेशमा भएको उक्त कारबाहीमा सईद घटनास्थलमै मारिएको सेनाको दाबी छ।
को हुन् रायद सईद?
समाचार एजेन्सी एएफपीका अनुसार रायद सईद हमासको सशस्त्र विङ्ग ‘अल कासम ब्रिगेड’ का दोस्रो वरीयताका कमान्डर हुन्। हाल यो विङ्गको कमान्ड इज एल्डीन अल हदादले सम्हालिरहेका छन्।
सईद सन् २०२३ अक्टोबरमा इजरायलमा भएको आक्रमणका मुख्य योजनाकारमध्ये एक मानिन्छन्। उनी हमासका लागि हतियार उत्पादन र आपूर्तिको नेटवर्कमा मुख्य भूमिका निर्वाह गर्दै आएका थिए। युद्धविरामको फाइदा उठाउँदै हमासलाई फेरि संगठित गर्न उनी सक्रिय रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
युद्धविराम उल्लंघनको आरोप
इजरायल र हमासबीच सन् २०२५ को अक्टोबरमा युद्धविराम सम्झौता भएको थियो। तर, हमासले इजरायलमाथि युद्धविराम उल्लंघन गरेको गम्भीर आरोप लगाएको छ।
हमासका अनुसार सम्झौतापछि पनि इजरायलले गाजामा ८ सयभन्दा बढी पटक आक्रमण गरिसकेको छ, जसमा ३ सय ८० जनाभन्दा बढीको मृत्यु भएको छ।