• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

२६०० विन्दुबाट तल झर्‍यो नेप्से, सबैजसो उपसमूह राताम्मे

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।

आइतबार नेप्से परिसूचक १२.५० अंक घटेर २५९४.८७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३० स्टकको ६० हजार ६९९ पटकको करोबारमा ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको सिटि होटलको शेयरमूल्य यस दिन सर्वाधिक ६.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २६ करोड १८ लाख रुपैयाँ बराबरको संस्थापक शेयर किनबेच भएको हो। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको करिब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम सिमेन्ट्सको करिब ८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको जलविद्युत, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक यस दिन करिब १ प्रतिशत घटेको छ।

नेप्से परिसूचक १४ कारोबार दिनपछि २६०० विन्दुभन्दा तल झरेको हो। यस अघि गत मंसिर ४ गते नेप्से २६०० विन्दुमुनि बन्द भएको थियो।