काठमाडौँ । गएको कात्तिकमा १ खर्ब ३३ अर्ब बढी रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गर्दै कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो जनाएको हो ।
कात्तिकमा भित्रिएको रेमिटेन्स गत वर्षको तुलनामा झन्डै १९ अर्बले बढी हो । गत वर्षको कात्तिकमा १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रेमिटेन्स आएको थियो । यद्यपि, गत असोजको तुलनामा भने कात्तिमा रेमिटेन्स घटेको छ । असोज महिनामा हालसम्मकै उच्च अर्थात् २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । असोजमा दसैं पर्ने भएकाले अन्य महिनाको दाँजोमा बढी रेमिटेन्स भित्रिने गर्छ ।
राष्ट्र बैंकका अनुसार योसँगै चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउन–कात्तिक) मा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३१.४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ४ महिनामा रेमिटेन्स आप्रवाह ९.४ प्रतिशतले मात्र वृद्धि भएको थियो ।
४ महिनामा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड डलर पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आप्रवाह ८.२ प्रतिशतले मात्र बढेको थियो ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै रेमिटेन्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । चार महिनामा १ लाख ४५ हजार ९ सय ७३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् भने १ लाख २७ हजार ८ सय ३७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
रेमिटेन्स आप्रवाह बढेसँगै मुलुकको विदेशी मुद्रा सञ्चिति बलियो बनेको छ । कात्तिक मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । यो गत असारको तुलनामा १४.१ प्रतिशतले बढी हो । अमेरिकी डलरमा सञ्चिति २१ अर्ब ५२ करोड पुगेको छ ।
राष्ट्र बैंकका अनुसार हालको विदेशी मुद्रा सञ्चितिले १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्छ । यसले मुलुकको बाह्य क्षेत्र मजबुत बन्दै गएको राष्ट्र बैंकको ठहर छ ।