• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

महँगी घट्दो, कात्तिकमा मूल्यवृद्धि दर १.११ प्रतिशतमा सीमित

काठमाडौँ । देशको समग्र उपभोक्ता मूल्यवृद्धि दर थप घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनासम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशत कायम भएको हो ।

यो दर गत आर्थिक वर्षको कात्तिकमा रहेको ५.६० प्रतिशतको तुलनामा ४.४९ प्रतिशत विन्दुले कम हो ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनाको (साउनदेखि कात्तिकसम्मको) औसत मुद्रास्फीति १.५३ प्रतिशत रहेको छ । जबकि गत वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.५९ प्रतिशत थियो ।

कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ । यस समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको मूल्य ५.२५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.६१ प्रतिशत तथा दुग्ध पदार्थ र अण्डाको १.९७ प्रतिशतले बढेको छ । तर, तरकारी उप–समूहको मूल्य १४.४३ प्रतिशत, मरमसलाको ७.८५ प्रतिशत र दाल तथा गेडागुडीको ५.३६ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.६९ प्रतिशत रहेको छ । यस समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको मूल्य १५.१७ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ता–चप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उप–समूहको मूल्य भने ०.२३ प्रतिशतले घटेको छ ।

क्षेत्रगत रूपमा कात्तिकमा ग्रामीण क्षेत्रको मुद्रास्फीति ०.६६ प्रतिशत र सहरी क्षेत्रको १.२६ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी १.८० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ०.२६ प्रतिशत मुद्रास्फीति देखिएको छ ।

यस्तै, काठमाडौँ उपत्यकामा मुद्रास्फीति १.१६ प्रतिशत, तराईमा १.२४ प्रतिशत, पहाडमा ०.८८ प्रतिशत र हिमाली क्षेत्रमा १.०६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।