चारैतिर घना जंगल । जताततै बाघको त्रास । बाघ कतिखेर कताबाट निस्किन्छ भन्ने टुंगो हुँदैन । जंगलमा जनावरहरू स्वतन्त्र घुमिरहन्छन् तर गाउँका मानिसहरू भने एक किसिमले पिंजडामा कैद छन् ।
यो दृश्य हो भारतको महाराष्ट्रस्थित चन्द्रपुर जिल्लाको ‘सीतारामपेठ’ गाउँको । ताडोबा बाघ संरक्षण क्षेत्र भित्र पर्ने यो गाउँका बालबालिकालाई स्कुल जानु युद्ध जितेर फर्किएजस्तै हुन्छ । तर, बाघको यही आतंकका बीच गाउँका चार जना महिलाहरू बालबालिकाको ‘ढाल’ बनेर उभिएका छन् ।
गाउँबाट बस बिसौनीसम्म पुग्न ४०० मिटरको कच्ची बाटो पार गर्नुपर्छ । बाटोको एकातिर घना जंगल छ भने अर्कोतिर खेत । सडकमा बत्ती (स्ट्रिट लाइट) को व्यवस्था छैन । वन विभागका अनुसार यो क्षेत्रमा १२–१३ वटा बाघहरू ओहोरदोहोर गरिरहन्छन् ।
यही बाटोमा गाउँलेहरूले अक्सर बाघ देखिरहन्छन् । कहिले गाईवस्तुमाथि आक्रमण त कहिले सडकमै बाघको बास । यही त्रासका कारण बालबालिकाहरू स्कुल जान डराउन थालेपछि गाउँका चार महिलाहरूले सुरक्षाको जिम्मा आफ्नो काँधमा उठाएका हुन् ।
किरण गेडाम, वेणु रन्दये, रिना नाट र सीमा मडावी । यी चार महिलाहरू हरेक दिन हातमा लाठी र टर्च लिएर बालबालिकालाई स्कुलको बस चढाउन र लिन पुग्छन् । गाउँमा करिब २०० मानिसको बसोबास छ । यहाँका ११ जना विद्यार्थीहरू ७ किलोमिटर टाढा रहेको मुधोलीमा पढ्न जान्छन् ।

कक्षा १० मा पढ्ने सुशान्त नाट भन्छन्, “गत महिना हामी स्कुल जाँदै गर्दा गाउँ नजिकै बाघ देख्यौँ । ऊ गाईलाई लखेट्दै थियो । बाघ देख्नासाथ हामी ज्यान जोगाउन गाउँतिरै भाग्यौँ ।” सुशान्त थप्छन्, “हामी साना छौँ, बाघले हामीलाई पनि आक्रमण गर्न सक्छ । यो कुरा हामीले घरमा भन्यौँ । त्यसपछि आमाहरूले हामीलाई स्कुल पुर्याउने जिम्मा लिनुभयो ।”
कसरी गर्छन् सुरक्षा ?
बिहान पौने १० बजे बस आउँछ । सबै बालबालिका गाउँको चोकमा भेला हुन्छन् । त्यसपछि चारैजना महिलाले बालबालिकालाई बीचमा राखेर वरिपरिबाट सुरक्षा घेरा (कर्डन) बनाउँदै बस स्ट्यान्डसम्म पुर्याउँछन् ।
बस नआउन्जेल उनीहरू त्यहीँ पहरा दिन्छन् । साँझ पौने ७ बजेतिर बालबालिका स्कुलबाट फर्किदा अँध्यारो भइसकेको हुन्छ । बिजुली बत्ती नभएको त्यो बाटोमा बाघ वा अन्य जनावरको आक्रमणको जोखिम उच्च हुन्छ ।
त्यसैले साँझ पर्नासाथ यी महिलाहरू हातमा टर्च र लाठी लिएर बस स्ट्यान्ड पुग्छन् । फर्किदा बालबालिकालाई घेरामा राखेर ल्याउँछन् । जनावरलाई भगाउन उनीहरू ठूलो स्वरमा कुरा गर्छन्, कराउँछन् र लाठीले आवाज निकाल्छन् ।
चार महिलामध्येकी एक किरण गेडाम भन्छिन्, “अँध्यारोमा त्यो १५ मिनेटको बाटो निकै डरलाग्दो हुन्छ । बालबालिका लिन जाँदा हामीले कयौँ पटक बाघ देखेका छौँ । तर, बच्चाहरू डराउँछन् भनेर हामी उनीहरूलाई भन्दैनौँ । बाघ देखियो भने हामी ठूलो स्वरमा कराउँछौँ । गाउँ पुगेपछि मात्रै बल्ल सास आउँछ ।”

उनले वन विभागसँग गार्ड (सुरक्षाकर्मी) माग गरे पनि सुनुवाइ नभएपछि आफैँ मैदानमा उत्रिनुपरेको बताइन् ।
वन विभागको प्रशंसा र पुरस्कार घोषणा
यी महिलाहरूको साहसको चर्चा मिडियामा आएपछि वन विभागको ध्यानाकर्षण भएको छ । मोर्होली वन रेन्जका अधिकारी सन्तोष थिपेले यो कामलाई ‘मानव–वन्यजन्तु द्वन्द्व’ कम गर्ने उत्कृष्ट उदाहरण भनेका छन् ।
उनले भने, “यी महिलाहरूको काम प्रशंसनीय छ । अब हामी ताडोबाका अन्य १०५ गाउँमा पनि यही मोडेल लागू गर्नेछौँ । बालबालिकाको सुरक्षामा खटिने टोलीलाई जनही १ हजार रुपैयाँ (टोलीलाई ४ हजार) भत्ता, इलेक्ट्रिक स्टिक (करेन्ट लाग्ने लाठी), ज्याकेट र टर्च उपलब्ध गराउनेछौँ ।”
– बिबिसी हिन्दीबाट