अमेरिकाले बहुचर्चित ‘ग्रीन कार्ड लटरी’ (डीभी) योजनालाई तत्कालका लागि स्थगित गरेको छ । अमेरिकाको ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गरी भएको दुःखद गोलीकाण्डपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले यो कार्यक्रम निलम्बन गर्ने निर्णय गरेका हुन् ।
ब्राउन युनिभर्सिटी घटनाका मुख्य संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानका क्रममा उनी सन् २०१७ मा विविधता लटरी आप्रवासी भिसा कार्यक्रम (डीभी) मार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड प्राप्त गरेको खुलेको थियो । सोही तथ्यलाई आधार बनाउँदै ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यो कार्यक्रम रोकेको हो ।
होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले राष्ट्रपतिको निर्देशनमा उक्त भिसा योजना स्थगित गरिएको पुष्टि गरेकी छिन् । उनले आगामी दिनमा कुनै पनि अमेरिकी नागरिकलाई यस्ता खालका आक्रमणबाट जोगाउन र सुरक्षा प्रणालीलाई थप मजबुत बनाउन यो निर्णय लिइएको बताएकी छिन् ।
अमेरिकी सरकारको यो निर्णयसँगै प्रत्येक वर्ष डीभी भरेर अमेरिका जाने सपना बुनेका लाखौँ मानिस प्रभावित हुने भएका छन् । यो कार्यक्रम अन्तर्गत अमेरिकामा आप्रवासन दर कम भएका देशहरूबाट प्रतिवर्ष चिठ्ठा प्रणालीमार्फत अधिकतम ५० हजार व्यक्तिलाई ग्रीन कार्ड उपलब्ध गराइँदै आएको थियो । नेपाल डीभी लटरीबाट वार्षिक रूपमा ठूलो संख्यामा नागरिक अमेरिका पठाउने देशहरूको सूचीमा पर्दछ ।
हाललाई यो कार्यक्रम स्थगित भएसँगै अबको प्रक्रिया के हुन्छ र पहिले नै डिभी परेकाहरूको हकमा कस्तो निर्णय आउँछ भन्ने विषयमा थप स्पष्ट भइसकेको छैन ।