• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

५ महिनामा ७ खर्ब ६६ अर्बको आयात, १ खर्ब १६ अर्बको निर्यात

काठमाडौँ । चालु आर्थिक वर्ष ५ महिनामा मुलुकले साढे ७ खर्ब बढीको वस्तु आयात गरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि मंसिरसम्ममा ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको हो ।

यस अवधिमा सबैभन्दा धेरै कच्चा भटमासको तेल, डिजेल, पेट्रोल, ग्यास र फलामजन्य वस्तु सबैभन्दा बढी आयात भएको छ ।

यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.८३ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८१/८२ को सोही अविधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ बराबरको मालसामान आयात भएको थियो ।

चालु आर्थिक वर्षको ५ महिनामा आयातसँगै निर्यात पनि उल्लेख्य रुपमा बढेको छ । गत ५ महिनामा १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

नेपालबाट यस अवधिमा सबैभन्दा धेरै प्रशोधित भटमासको तेल, अलैंची, गलैंचा, सूर्यमुखीको तेल, ब्लिच नगरिएको जुटका कपडा, पाम तेल लगायतका वस्तु अन्य मुलुकहरुमा निर्यात भएको छ ।

यो निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको मालसामान निर्यात भएको थियो ।

आयात र निर्यातमा देखिएको वृद्धिले समग्र वैदेशिक व्यापार २०.७ प्रतिशतले बढेको छ । ५ महिनामा नेपालले ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

वैदेशिक व्यापार बढे पनि आयात र निर्यात बिचको यो असन्तुलनले व्यापार घाटा थप चुलिएको छ । ५ महिनाको तथ्यांक हेर्दा मुलुकले यस अवधिमा ६ खर्ब ४६ अर्ब ६८ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । यो गत आर्थिक वर्षको दाँजोमा १० प्रतिशलेले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ थियो ।