काठमाडौँ । तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाइएको स्थानहद तथा विदेश भ्रमणको रोक फुकुवा भएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले सोमबार उनीहरूलाई आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका नछाड्नुपर्ने र विदेश भ्रमणमा रोक लगाइएको व्यवस्था हटाएको हो ।
आयोगका अनुसार तीनै जनाको बयान लिइसकिएकाले अनुसन्धानको यस चरणमा स्थानहद आवश्यक नपरेको भन्दै फुकुवा गरिएको हो । आयोगका उपसचिव कमलप्रसाद पाण्डेले पठाएको पत्रमा उनीहरू अब विदेश भ्रमण गर्नसमेत पाउने उल्लेख छ ।
आयोगले कात्तिक २७ गते अनुसन्धानका लागि भन्दै ती तीन जनामाथि विदेश भ्रमणमा रोक र स्थानहद तोकेको थियो ।
यसअघि गुप्तचर विभागका तत्कालीन प्रमुख हुतराज थापाको बयान सकिएपछि उनको पनि स्थानहद फुकुवा गरिएको थियो ।
अब आयोगले घटनासँग सम्बन्धित थप व्यक्तिहरूको बयान लिने तयारी गरेको छ । आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि शुक्रबार उपस्थित हुन पत्र पठाइसकेको छ भने त्यसपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने तयारीसमेत गरेको जनाएको छ ।