• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

तराईमा शीतलहरको कहर, आगामी साता हिउँदको पहिलो वर्षा हुने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तराई–मधेसका जिल्लाहरूमा बिहीबारसम्म शीतलहर चल्ने चेतावनी दिएको छ। विभागका अनुसार मंगलबार रातिदेखि पुस १० गतेसम्म तराईका धेरैजसो भू–भागमा बाक्लो हुस्सु, कुहिरो र शीतलहरको अवस्था रहने देखिएको छ।

यसैबीच, मौसमविद्हरूले आगामी साता यस वर्षको हिउँद यामको पहिलो वर्षा हुन सक्ने प्रक्षेपण गरेका छन्। लामो समयदेखि पानी नपर्दा वायुमण्डलमा प्रदूषण बढेको अवस्थामा आगामी साता केही राहत मिल्ने देखिएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार अर्को हप्ता पहाडी भेगमा हल्का हिउँ पर्ने र काठमाडौंलगायत मध्य–पहाडी क्षेत्रमा सिमसिम पानी पर्ने सम्भावना छ। पोखरेलले भने, ‘अर्को हप्ता हामी जाडोयामको पहिलो वर्षा देख्न सक्छौँ, जसले मौसम अझ चिसो बनाउनेछ।’

पोखरेलका अनुसार तराईमा भने पानी पर्ने सम्भावना न्यून छ, तर चिसो भने निकै बढ्नेछ। पानी नपर्दा हाल आकाशमा धुवाँ र धूलोका कणहरू थुप्रिएर वायु प्रदूषण उच्च भएको छ।