• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

लुम्बिनी लायन्सको च्याम्पियन्स ट्रफी सेलिब्रेसन कन्सर्ट गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सले च्याम्पियन्स ट्रफी सेलिब्रेसन कन्सर्ट आयोजना गर्ने भएको छ ।

हाल लुम्बिनी प्रदेशमा च्याम्पियनसिप ट्रफी सेलिब्रेसन टुरमा रहेको लुम्बिनी लायन्सले सेलिब्रेसन टुरको अन्तिम दिन यही पुस १६ गते (डिसेम्बर ३१ तारिख) भव्य कन्सर्ट गर्ने घोषणा गरेको छ ।

सेलिब्रेसन कन्सर्ट अन्तर्गत पुस १६ गते बुटवलस्थित बुटवल ईन्टरनेसनल कन्भेन्सन सेन्टर (बीआईसीसी) Butwal International Convention Centre (BICC) मा साँझ ५ देखि १२ बजेसम्म बृहत कर्न्सट कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कन्सर्टका लागि इसेवा बाट टिकट खरिद गर्न सकिनेछ । कन्सर्ट हेर्न रु ५०० र १००० मूल्यको टिकटदर तोकिएको छ । टिकट खरिद यो लिंकमा गएर गर्न सकिनेछ ।

च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर अन्तर्गत लुम्बिनी प्रदेशका प्रत्येक जिल्ला तथा ती जिल्लाका महत्वपूर्ण स्थान, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक धरोहरहरूको भ्रमण गरिँदैछ। यस क्रममा भ्रमण तथा आशीर्वाद ग्रहण गर्दै नेपाली क्रिकेटको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने प्रयास भइरहेको छ । साथै क्रिकेटसँग जोडिएका सबैलाइ अझ विशेष गरी हाम्रा समर्थकहरूको सम्मान गर्नु र स्थानीय ठाउँलाई प्रवर्द्धन गर्नु यस टुरको मुख्य उद्देश्य हो।

सम्पूर्ण जिल्लामा ट्रफी सेलिब्रेसन टुर सम्पन्न भएपछि बुटवलमा चर्चित कलाकारहरू, लुम्बिनी लायन्सका खेलाडी तथा व्यवस्थापन टोली, साथै नेपाली क्रिकेटलाई यो स्थानसम्म ल्याउन अमूल्य योगदान दिएका क्रिकेट लेजेन्डहरूको विशेष उपस्थितिमा भव्य च्याम्पियन्स सेलिब्रेसन कन्सर्ट आयोजना गरिनेछ र उक्त अवसरमा सबै एकै मञ्चबाट नयाँ वर्षको स्वागत गर्दै ऐतिहासिक सफलताको उत्सव सामूहिक रूपमा मनाइनेछ ।

कन्सर्टमा नेपालका चर्चित गायक दुर्गेश थापा, दी इलेमेन्ट्स ब्याण्ड, बद्रि पंगेनी, भिओमा, कविता न्यौपाने, विष्णु खत्री, एन्जिला रेग्मी, बबिता धिताल र तेरिया पुन मगरले आफ्नो प्रस्तुती दिनेछन् ।

लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसीले भने, ‘खेलाडीहरूको अपार मेहनत, आत्मविश्वास तथा समर्पणसँगै समर्थकहरूको निरन्तर साथ, विश्वास र मायाकै कारण आज यो सफलता सम्भव भएको हो आउनुहोस्, हामी सबै मिलेर यो विजय उत्सव भव्य तरिकाले मनाऔँ र यसलाई अझ गर्विलो क्षण बनाऔँ ।’

च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर पुस ५ गते बाँके र बर्दियाबाट सुरु भइसकेको छ । च्याम्पियन्स सेलिब्रेसन ट्रफी टुर लुम्बिनीको सबै जिल्लामा पुर पुस १६ गते अन्तिम दिन कन्सर्टसहित ग्राण्ड सेलिब्रेसन कार्यक्रम आयोजना हुनेछ । अंग्रेजी नयाँ वर्ष ईभको अवसर पारे कन्सर्ट गरिनेछ ।

लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।