काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बुधबार आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्र (SDSC SHAR) को दोस्रो प्रक्षेपण स्थलबाट LVM3–M6 मिसन सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
पूर्ण रूपमा व्यावसायिक यो मिसनमार्फत अमेरिकास्थित AST Space Mobile को ब्लूबर्ड ब्लक–२ उपग्रहलाई लो अर्थ अर्बिट (LEO) मा सफलतापूर्वक स्थापित गरिएको हो ।
६ हजार एक सय किलोग्राम तौलको यो सञ्चार उपग्रह भारतीय भूमिबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा भारी पेलोड हो । यसले गत महिना मात्र प्रक्षेपण गरिएको CMS–03 उपग्रहको रेकर्ड तोडेको छ । विश्वकै सबैभन्दा ठूलो व्यावसायिक सञ्चार उपग्रह मानिने ब्लूबर्ड ब्लक–२ ले साधारण मोबाइल फोनमै सिधै स्पेस–आधारित सेल्युलर ब्रडब्यान्ड सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।
LVM3–M6 मिसन इसरोको तीन चरणीय हेभी लन्च भेहिकल LVM–3 प्रयोग गरी गरिएको लगातार ९औँ सफल प्रक्षेपण हो । यो मिसन अन्तर्राष्ट्रिय साझेदारसँगको सहकार्यमा सम्पन्न गरिएको तेस्रो LVM–3 प्रक्षेपण पनि हो । हालसम्म इसरोले ३४ देशका ४३४ उपग्रह प्रक्षेपण गरिसकेको छ ।
प्रक्षेपणपछि इसरोका अध्यक्ष भी. नारायणन ले भने, ‘LVM–3 ‘बाहुबली’ प्रक्षेपण यानले ब्लूबर्ड ब्लक–२ सञ्चार उपग्रहलाई अत्यन्त सटीकताका साथ निर्धारित कक्षमा स्थापित गरेको छ । चन्द्रयान–२, चन्द्रयान–३, वनवेब, CMS–03 र अब ब्लूबर्ड ब्लक–२ सम्म आइपुग्दा यस यानले आफ्नो उत्कृष्ट ट्र्याक रेकर्ड प्रमाणित गरेको छ । यो सजिलो कार्य थिएन, यसका लागि विभिन्न टोलीबीच घनिष्ठ समन्वय आवश्यक थियो ।’
प्रक्षेपणपछिको पत्रकार सम्मेलनमा नारायणनले LVM–3 रकेटको पेलोड क्षमताले अब ८ हजार किलोग्राम नाघिसकेको र गगनयान मानव अन्तरिक्ष मिसनका लागि आवश्यक ९ हजार ५ सय किलोग्राम क्षमतातर्फ नजिकिँदै गएको बताए । बारम्बारको सफल प्रक्षेपणले गगनयानका लागि LVM–3 को विश्वसनीयतामा थप आत्मविश्वास बढेको उनको भनाइ छ ।
उनका अनुसार, यो मिसन इसरोको अहिलेसम्मकै सबैभन्दा सटीक प्रक्षेपण हो, जसमा उपग्रह निर्धारित लक्ष्यभन्दा २ किलोमिटरभन्दा कम दूरीमा स्थापित भयो, जबकि सामान्यतया १५ किलोमिटरसम्मको त्रुटि स्वीकार्य मानिन्छ । साथै, पहिलो चरणका स्ट्र्याप–अन मोटरमा प्रयोग गरिएका नयाँ इलेक्ट्रो–मेकानिकल एक्टुएटरले पेलोड क्षमतामा १००–१५० किलोग्राम वृद्धि गर्न सहयोग पुर्याएको छ ।
यो सफलता इसरोका लागि व्यस्त प्रक्षेपण तालिकाबीच आएको हो । आगामी महिनाहरूमा गगनयानका मानवविहीन परीक्षण उडान, विद्युतीय उपग्रह, क्वान्टम की डिस्ट्रीब्युसन जस्ता अत्याधुनिक प्रविधिका प्रदर्शन मिसनहरू तय छन् ।
यसैबीच, चन्द्रमाबाट ढुंगा नमुना पृथ्वीमा ल्याउने लक्ष्यसहितको चन्द्रयान–४ मिसनले पनि उल्लेखनीय प्रगति गरेको नारायणनले जानकारी दिए । ‘हामीले अन्तरिक्ष डकिङ प्रयोगहरू उच्च परिपक्वताका साथ पटक–पटक सफल बनाएका छौँ । निर्धारित समयमै यो मिसन प्रक्षेपण गर्ने लक्ष्यमा छौँ,’ उनले भने ।