• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नाइजेरियामा इस्लामिक स्टेटविरुद्ध अमेरिकाको ‘शक्तिशाली हमला’

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नाइजेरियाको उत्तर–पश्चिम क्षेत्रमा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अमेरिकाले ‘शक्तिशाली र घातक’ आक्रमण गरेको घोषणा गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत् जानकारी दिँदै राष्ट्रपति ट्रम्पले आफ्नो नेतृत्वमा अमेरिकाले कट्टरपन्थी इस्लामिक आतङ्कवादलाई फस्टाउन नदिने प्रतिबद्धता व्यक्त गरे।

ट्रम्पले अमेरिकी सेनाले कैयौँ उत्कृष्ट हमलाहरू गरेको बताएका छन्। यसै सन्दर्भमा अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले नाइजेरियाली सरकारको सहयोग र सहकार्यका लागि आफू आभारी रहेको बताएका छन्।

यूएस अफ्रिका कमान्डले उक्त हमला नाइजेरियाको सोकोटो राज्यमा स्थानीय सरकारसँगको समन्वयमा गरिएको जनाएको छ। नाइजेरियाका विदेश मन्त्री युसुफ मेटमा टुगारले बीबीसीसँग कुरा गर्दै यो एक संयुक्त कारबाही भएको पुष्टि गरेका छन्। मन्त्री टुगारले भविष्यमा पनि यस्ता कारबाही हुन सक्ने र त्यो दुई देशका नेतृत्वको निर्णयमा भर पर्ने बताए।

राष्ट्रपति ट्रम्पले आईएसलाई “आतङ्कवादी बदमाश” को संज्ञा दिँदै उक्त समूहले मुख्य रूपमा निर्दोष इसाईहरूलाई निशाना बनाएर निर्मम हत्या गरेको आरोप लगाएका छन्। गत नोभेम्बरमा ट्रम्पले अमेरिकी सेनालाई नाइजेरियामा इस्लामिक लडाकुविरुद्ध कारबाहीको तयारी गर्न निर्देशन दिएका थिए।

यद्यपि, हिंसाको निगरानी गर्ने अन्तर्राष्ट्रिय समूहहरूले भने ट्रम्पको दाबी अनुसार केवल इसाईहरू मात्र निशानामा परेको भन्ने ठोस प्रमाण नभएको बताएका छन्। एक्लेडका अनुसार नाइजेरियामा जारी हिंसामा हजारौँ मानिस मारिएका छन्, जसमा मुस्लिमहरूको सङ्ख्या पनि ठूलो छ।

विशेष गरी उत्तर–पूर्वी नाइजेरियामा बोको हराम र आईएस वेस्ट अफ्रिका प्रोभिन्सले लामो समयदेखि हिंसा मच्चाइरहेका छन्। साथै, मध्य नाइजेरियामा मुस्लिम गोठाला र इसाई किसानबीच पानी र चरनको विषयलाई लिएर हुने साम्प्रदायिक झडपमा दुवै पक्षका मानिस हताहत हुने गरेका छन्।

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले आफ्नो सरकार सबै धर्मका समुदायको रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै आएका छन्। उनका सल्लाहकारहरूले जिहादी समूहविरुद्ध अमेरिकी सहयोगको स्वागत गरे पनि नाइजेरिया एक सार्वभौम राष्ट्र भएको र कुनै पनि सैन्य कारबाही आपसी समन्वयमा हुनुपर्नेमा जोड दिएका छन्।