• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

निर्जीवन बीमा कम्पनीको व्यापारमा वृद्धि, ५ महिनामा साढे १९ अर्ब संकलन

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यापारमा उल्लेखनीय वृद्धि देखिएको छ । देशको अर्थतन्त्र सुस्त गतिमा अघि बढिरहेका बेला निर्जीवन बीमा कम्पनीहरूको व्यापारमा भने १३.४६ प्रतिशतले बढेको हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि मंसिरसम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्। गत वर्षको सोही अवधिमा १७ अर्ब १७ करोड रुपैयाँ प्रिमियम संकलन भएको थियो ।

बीमालेख संख्यामा पनि करिब ६ प्रतिशतको वृद्धि भएको छ । विशेषगरी सवारी र आगलागी बीमामा नयाँ पोलिसी थपिँदा बजार विस्तार भएको देखिन्छ ।

यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै अर्थात् २ अर्ब २१ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । त्यसपछि शिखर इन्स्योरेन्सले २ अर्ब १५ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८६ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

यस्तै, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ५७ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब २२ करोड र दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ११ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका छन् ।

यसै अवधिमा लघु बीमक कम्पनीहरूले कुल ४९ करोड ६० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।