• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रिलायन्सको आईपीओमा ३३ गुणा बढी आवेदन

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले निष्कासन गरेको आईपीओमा करिब ३३ गुणा बढी आवेदन परेको छ । कम्पनीले पुस ७ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेकोमा अन्तिम दिनसम्म कुल ३ करोड ५ लाख ४ हजार ८०० कित्ताका लागि आवेदन परेको हो ।

सीडीएस एन्ड क्लियरिङ हाउसले जनाए अनुसार अन्तिम दिनसम्म ५ लाख ८३ हजार ८९६ जना आवेदकबाट प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको दरले कुल २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँ बराबरको सेयर माग भएको छ । आवेदन संख्या र संकलित रकम दुवै हिसाबले यो हालसम्मकै उच्च हो ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यो आईपीओ पहिलो दिनमै ४० मिनेटभित्र ‘ओभर सब्सक्राइब’ भएको थियो ।

रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब ९० लाख रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर बुक बिल्डिङ विधिबाट निष्कासन गर्ने अनुमति पाएको थियो । यसमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ६० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट भइसकेको छ । बाँकी ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो । वैदेशिक रोजगार र सामूहिक लगानी कोषतर्फ पनि करिब १७ गुणा बढी आवेदन परी सेयर बाँडफाँट सम्पन्न भइसकेको छ ।

आवेदन संख्याका आधारमा सर्वसाधारणतर्फ आईपीओ भर्ने करिब प्रत्येक ३२ जनामध्ये एक जनाले ५० कित्ता सेयर पाउने अनुमान गरिएको छ । यस अनुसार करिब १८ हजार ४९५ जना आवेदकले सेयर प्राप्त गर्नेछन् ।