• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बालेन–रवि सहकार्य: सम्भावना र चुनौती

समकालीन नेपाली राजनीतिमा हेर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) दुवै युवा पुस्ताको आकर्षणको केन्द्रमा छन्। पुस्तान्तरणको राजनीतिमा यी दुई नाम अग्रपंक्तिमा आउने गरेका छन्। यद्यपि, दुवैको राजनीतिक पृष्ठभूमि र कार्यशैली भने फरक छ।

२०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरमा अभूतपूर्व मतसहित विजयी भएका बालेन शाह ऱ्यापर र इन्जिनियर हुँदै राजनीतिमा उदाएका पात्र हुन्। ऱ्यापर हुँदा नै युवामाझ राम्रो छवि बनाएका बालेनमा निर्वाचनको नतिजा र त्यसपछिका घटनाक्रममा देखिएको युवाहरूको आकर्षणले गर्दा जनसमर्थन आफूतिर छ भन्ने उच्च आत्मविश्वास देखिन्छ।

यता, समाजसेवा र पत्रकारिताबाट ख्याति कमाउँदै राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले पाएको सफलता देखेपछि वैकल्पिक शक्तिका रूपमा रास्वपा गठन गरेको देखिन्छ। पार्टी स्थापनाको ६ महिना नपुग्दै प्रतिनिधि सभामा २० सिट जित्दै चौथो ठूलो र राष्ट्रिय दल बनेपछि रवि पनि आफ्नो जनमतप्रति ढुक्क छन्। पटक-पटक कानुनी झमेला र हिरासत बसाइका बाबजुद जनताले देखाएको साथ र हुटहुटीले रविमा पनि बेग्लै आत्मविश्वास भरेको छ।

पुस्तान्तरणको केन्द्रमा रहे तापनि दुवैको व्यक्तित्व भने नितान्त फरक देखिन्छ। सञ्चारकर्मबाट उदाएका रवि अन्तर्वार्ता, भाषण र सार्वजनिक अन्तरक्रियामा निकै सक्रिय रहँदै आएका छन्। आफू निर्वाचित भएको क्षेत्र वा घटना विशेषमा पुगेर जनतालाई सान्त्वना दिने र तत्काल कदम चाल्ने शैली उनमा देखिन्छ।

तर, बालेन शाह भने निर्वाचित भएपछि जनसम्पर्कमा वा सार्वजनिक कार्यक्रममा कमै देखिने गरेका छन्। निर्वाचित भएपश्चात् उनी विरलै सार्वजनिक अन्तर्वार्तामा देखिएका छन्। सामाजिक अन्तरक्रियाको साटो ‘फेसबुक स्ट्याटस’ लाई नै सूचनाको संवाहक बनाएको भन्दै उनको बेला–बेला आलोचना पनि हुने गरेको छ।

एकता/सहकार्यका चुनौतीहरू

रवि र बालेन एक ठाउँमा उभिएर अघि बढे पनि थुप्रै चुनौतीहरूको सामना गर्नुपर्ने प्रस्ट देखिन्छ:

१. व्यक्तित्वको टकराव:

व्यक्तिगत स्वभाव नै फरक भएका दुई नेता एकीकृत भएर पार्टी चलाउनु निकै कठिन देखिन्छ। कम बोल्ने र काम गरेर देखाउने विचार बोकेका बालेन तथा मिडिया र अन्तरक्रियालाई प्राथमिकता दिने रविको कार्यशैली बीच तालमेल मिलाउनु चुनौतीपूर्ण हुनेछ।

२. आन्तरिक द्वन्द्व व्यवस्थापन:

बालेनसँग सहकार्य गर्दा रास्वपाको स्थापनादेखि सँगै रहेका नेताहरूलाई व्यवस्थापन गर्नु रवि लामिछानेका लागि अर्को चुनौती हो। दोस्रो वरीयतामा रहेका डीपी अर्याल, स्वर्णिम वाग्ले, सोबिता गौतम लगायतका नेताहरूसँग बालेनलाई समायोजन गर्नु र मर्यादाक्रम मिलाउनु ‘फलामको चिउरा चपाउनु’ सरह हुनेछ।

३. टिकट वितरणमा सकस:

पार्टी स्थापनादेखि सँगै रहेका पुराना सदस्यहरूमा उम्मेदवार बन्ने चाहना हुनु स्वाभाविक हो। तर, एकतापछि बालेन पक्षका व्यक्तिहरूलाई पनि समानुपातिक रूपले टिकट वितरण गर्नु थप पेचिलो विषय बन्नेछ।

४. संगठन विस्तार:

सहरी क्षेत्रमा रवि र बालेनको ‘क्रेज’ राम्रो रहेको कुरामा दुई मत छैन। तर, सहरी क्षेत्रमा जति पकड छ, ग्रामीण क्षेत्रमा त्यति नै बलियो संगठन बनिसकेको अवस्था छैन। बहुमतको लक्ष्य राखेर सहकार्य गरे पनि ग्रामीण जिल्लाहरूमा जनमत बलियो बनाउनु उनीहरूका लागि निकै कठिन कार्य हो।

बालेन र रवि फरक पृष्ठभूमिबाट आए पनि उनीहरू बीचको सम्भावित राजनीतिक सहकार्यलाई सकारात्मक रूपमा लिन सकिन्छ। युवा पुस्तामा देखिएको राजनीतिक निराशालाई चिर्दै आगामी निर्वाचनमा राम्रो जनमत ल्याउन सके उनीहरूको यो कदम सफल मानिनेछ। तर, व्यवस्थापन चुस्त नभए र सोचे अनुरुप नतिजा नआए उनीहरूको राजनीतिक भविष्य नै संकटमा पर्न सक्ने जोखिम पनि उत्तिकै छ।

–लेखक शिवाकोटी कानुन विषयमा प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।