• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

टम्पले भने- मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरिसक्यौँ

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकाले पक्राउ गरेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत भेनेजुएलाविरुद्ध ठुलो आक्रमण गरिएको पुष्टि गर्दै ट्रम्पले मादुरो र उनकी श्रीमतीलाई देशबाट निकालिएको बताएका हुन् ।

‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसका नेता, राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक ठुलो मात्रामा हमला  गरेको छ, जसबाट उनकी श्रीमतीसहित पक्राउ गरी देशबाट निकालिएको छ,” ट्रम्पले लेखेका छन् ।

उता, अमेरिकाले मिसाइल आक्रमण गरेपछि भेनेजुएलामा सङ्कटकाल घोषणा गरेको छ । बिबिसीले उच्च अमेरिकी अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि आक्रमणको आदेश दिएको उल्लेख गरेको हो ।

ट्रम्पको आदेशपछि भेनेजुएलाको राजधानी कराकससँगै मिरान्डा, अरागुवा र ला ग्वाइरा राज्यमा एकैसाथ बम्बारी भएको बिबिसीले जनाएको छ । यद्यपि, उक्त हमलाको क्षति विवरण भने आइसकेको छैन । प्रत्यक्षदर्शीहरूले भने राजधानी लगायतका धेरै ठाउँका आकाश आगो र धुवाँको मुस्लोले ढोकेको बयान दिएका छन् ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी आक्रमणको निन्दा गर्दै देशभर सङ्कटकाल लागु गरेका छन् । उनले सुरक्षा बलहरू परिचालन गरेको र देशका सबै सामाजिक र राजनीतिक शक्तिहरूलाई ‘साम्राज्यवादी आक्रमण’ विरुद्ध एकजुट भएर प्रतिकार गर्न आह्वान समेत गरेका छन् ।

उता ह्वाइट हाउसले भने आक्रमणलाई कुनै आधिकारिक टिप्पणी गरिसकेको छैन । यद्यपि, बोगोटास्थित अमेरिकी दूतावासले भने भेनेजुएला नजान भन्दै अमेरिकी नागरिकहरूलाई सचेत गराएको छ ।

ट्रम्प र मादुरो बिचको लामो छेडखानी र अमेरिकाले हालैका महिनाहरूमा क्यारिबियनमा आफ्नो सैन्य उपस्थिति तीव्र रूपमा बढाउँदै गइरहेको पृष्ठभूमिमा पछिल्लो आक्रमण भएको हो ।  तर ट्रम्पको पछिल्लो भनाईले मादुरोको सम्बन्धमा अन्यौलता पैदा गरेको छ ।