अमेरिकाले भेनेजुएलामाथि आक्रमण गर्दै राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि विश्व राजनीति तरङ्गित बनेको छ । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि आक्रमण गरिएको पुष्टि गर्दै निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरिएको उल्लेख गरेपछि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ बहस, तनाव र ध्रुविकरण सुरु भएको अन्तर्राष्ट्रिय मिडिया अलजजिराले उल्लेख गरेको हो ।
मादुरो र उनको श्रीमतीको पक्राउ गरिएको र देशबाट निकालिएको अमेरिकी दाबीपछि विभिन्न देशहरूले प्रतिक्रिया जनाएका छन् ।
संयुक्त राज्य अमेरिका
अमेरिकी उपविदेश मन्त्री क्रिस्टोफर ल्यान्डाउले भेनेजुएलामा नयाँ बिहान सुरु भएको बताएका छन् । उनले एक्समा पोस्ट गर्दै लेखेका छन्, “भेनेजुएलामा नवीन बिहानी । अत्याचारी शासकको अन्त्य भयो । अब उनले आफ्नो अपराधको सामना गर्नेछन् ।”
भेनेजुएला
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरो र फर्स्ट लेडी सीलिया फ्लोरेसको पछिल्लो अवस्था अज्ञात रहेको बताउँदै उनीहरू जीवितै रहेको प्रमाण माग गरेकी छिन् ।
उनले सरकारलाई राष्ट्रपति र फर्स्ट लेडीका बारेमा कुनै जानकारी नभएको बताएकी छिन् ।
कोलम्बिया
कोलम्बियाका राष्ट्रपति गुस्तावो पेत्रोले अमेरिकी आक्रमणको निन्दा गर्दै भेनेजुएलाको सीमा क्षेत्रमा सैन्य बल तैनाथ गर्ने घोषणा गरेका छन् । सबै राष्ट्रलाई युद्ध विराम र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आह्वान गर्दै उनले भनेका छन्, “विश्वलाई देखाउन भेनेजुएलामा आक्रमण गरिएको छ। कोलम्बिया भेनेजुएला र ल्याटिन अमेरिकाको सार्वभौमिकतामाथिको आक्रमणको विरोध गर्दछ ।”
क्युबा
क्युबाका राष्ट्रपति मिगुएल डियाज-कानेल बर्मुडेजले अमेरिकी आक्रमणको कडा आलोचना गर्दै यसलाई छन् अमेरिकी आतङ्कवादको संज्ञा दिएका छन् । उनले लेखेका छन्, “मातृभूमि वा मृत्यु ! हामी फेरि उठ्ने छौँ ।”
इरान
इरानले अमेरिकी आक्रमणको कडा विरोध गर्दै भेनेजुएलाको राष्ट्रिय सम्प्रभुता र अखण्डताको उल्लङ्घन भएको बताएको छ ।
रुस
रुसले अमेरिकाको आक्रमणलाई सैन्य बर्बरता भनेको छ र थप सङ्कट ननिम्ताउन संवादको मार्ग खोज्नुपर्ने भनेको छ। भेनेजुएलालाई आफ्नै भविष्य निर्धारण गर्ने अधिकार रहेको भन्दै रुसले कुनै पनि बाह्य सैन्य हस्तक्षेपको अस्वीकार्य रहेको प्रतिक्रिया दिएको छ ।
युरोपेली सङ्घ
युरोपेली संघका उप उच्च आयुक्त काजा काल्लासले भेनेजुएलामा विकसित घटनाबारे आफूले अमेरिकी विदेश मन्त्री मार्को रुबियोसँग कुरा गरेको उल्लेख गरेकी छिन् । काजा काल्लासले भनेकी छिन्, “हामी भेनेजुएलामा विकसित परिस्थितलाई नजिकबाट नियालिरहेका छौँ ।”
स्पेन
स्पेनले भेनेजुएलामा तनाव कम गर्न, मध्यस्थता गर्न र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आह्वान गरेको छ । भेनेजुएलामा शान्तिपूर्ण समाधान खोज्न मद्दत गर्न आफू मध्यस्थता गर्न तयार रहेको स्पेनको भनाई छ ।
इटाली
इटलीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले भेनेजुएलाको घटनाबारे नियालिरहेको बताएकी छिन् । “भेनेजुएलाको घटनाबारे नियालिरहेका छौँ र त्यहाँ बस्ने इटालियन नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न प्रयास गरिरहेको छौँ”, मेलोनीलेले भनेकी छिन् ।