गत अगस्टमा अमेरिकी गुप्तचर संस्था (सीआईए) को एक गोप्य टोली सुटुक्क भेनेजुएला छिर्यो। उनीहरूको उद्देश्य थियो– राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नार्को-टेररिस्ट’ (लागुऔषध आतंकवादी) घोषणा गरेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको जासुसी गर्नु।
महिनौंसम्म सीआईएका अधिकारीहरूले राजधानी काराकासमा रहेर मदुरोको हरेक गतिविधिलाई सुक्ष्म रूपमा निगरानी गरे। उनीहरूले मादुरोका निकटस्थ स्रोत र आकाशमा उड्ने अदृश्य ड्रोनको सहायताले मादुरोको दैनिकी, उनी के खान्छन् र कस्ता घरपालुवा जनावर पाल्छन् भन्ने सानोभन्दा सानो विवरण संकलन गरे।
यही सूचनाको आधारमा अमेरिकी सेनाले शनिबार बिहानै ‘डेल्टा फोर्स’ कमान्डोमार्फत एक जोखिमपूर्ण कारबाही अघि बढायो, जसलाई ‘अपरेसन एब्सोल्युट रिजल्भ’ नाम दिइएको छ। सन् २०११ मा ओसामा बिन लादेनलाई मार्न गरिएको कारबाहीपछिको यो सबैभन्दा जोखिमपूर्ण मिसन मानिएको छ।
यो मिसनको तयारीका लागि अमेरिकी सेनाले केन्टकीमा मादुरोको निवासजस्तै नमुना भवन बनाएर अभ्यास गरेको थियो। मौसम र सर्वसाधारणको क्षति कम हुने समयको प्रतीक्षापछि शुक्रबार राति राष्ट्रपति ट्रम्पले फ्लोरिडाको ‘मार-ए-लागो’ रिसोर्टबाट अन्तिम आदेश दिए।
अपरेसन सुरु हुनुअघि ‘साइबर अट्याक’ मार्फत काराकासको ठूलो हिस्सामा बिजुली काटियो। अँध्यारोको फाइदा उठाउँदै १५० भन्दा बढी अमेरिकी लडाकु विमान, ड्रोन र हेलिकप्टरहरू भेनेजुएलाको आकाशमा प्रवेश गरे।
अमेरिकी अधिकारीहरूका अनुसार, भेनेजुएलाको राडार र एयर डिफेन्स सिस्टम ध्वस्त पारेपछि अमेरिकी हेलिकप्टरहरू मदुरोको निवासमा ओर्लिएका थिए।
डेल्टा फोर्सका कमान्डोहरू मदुरोको निवासमा प्रवेश गर्दा राष्ट्रपति ट्रम्प र उनका सल्लाहकारहरूले फ्लोरिडाबाटै ड्रोन क्यामेराको मद्दतले लाइभ हेरिरहेका थिए। ट्रम्पले फक्स न्युजलाई बताए, “मैले यो सबै टेलिभिजन शो हेरेजस्तै हेरें।”
अमेरिकी सेना भित्र छिरेपछि मदुरो र उनकी पत्नीले स्टिलले बनेको सुरक्षित कोठामा भाग्ने प्रयास गरेका थिए। तर, उनीहरू ढोका बन्द गर्न नपाउँदै अमेरिकी सेनाको नियन्त्रणमा पुगे।
त्यसपछि मदुरो दम्पतीलाई हेलिकप्टरमार्फत क्यारेबियन सागरमा रहेको अमेरिकी युद्धपोत ‘युएसएस इभो जिमा’ मा लगियो। त्यहाँबाट ग्वान्टानामो बे हुँदै एफबीआईको विमानमार्फत उनीहरूलाई न्युयोर्क ल्याइएको छ। अब उनीहरूविरुद्ध लागुऔषध ओसारपसारको संघीय मुद्दा चलाइनेछ।
यो अपरेसनमा कुनै पनि अमेरिकी सैनिकको मृत्यु नभएको बताइएको छ, यद्यपि ६ जना सैनिक घाइते भएका छन्। उता भेनेजुएलाका एक अधिकारीका अनुसार आक्रमणमा सैनिक र सर्वसाधारण गरी कम्तीमा ४० जनाको मृत्यु भएको छ।
ट्रम्पले यो कारबाहीलाई लागुऔषध तस्करीविरुद्धको कदम भनेका छन्। उनले भेनेजुएलाको तेल पूर्वाधार अमेरिकाले पुनर्निर्माण गर्ने र देशलाई ‘सञ्चालन’ गर्ने घोषणा समेत गरेका छन्। तर, अन्तर्राष्ट्रिय समुदायमा अमेरिकाको यो कदमको वैधानिकता र अर्को देशको सार्वभौमसत्तामाथिको हस्तक्षेपलाई लिएर गम्भीर प्रश्नहरू उठेका छन्।