काठमाडौँ । अमेरिकाले भेनेजुएलामाथि आक्रमण गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर अमेरिका पुर्याएपछि विश्व तरङ्गित बनेको छ । अहिले विश्वभर अमेरिकाले चाल्ने आगामी कदम र भेनेजुएलाको भविष्यलाई लिएर अनेक अड्कलबाजी भइरहेको छ ।
अझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलाको विशाल तेल भण्डारलाई नियन्त्रण लिने र भेनेजुएलाको जीर्ण तेल उद्योग पुनर्निर्माण गर्न अर्बौँ डलर लगानी गर्ने घोषणा गरेपछि भेनेजुएलासँग भएको तेल भण्डारबारे सर्वत्र चासो छ ।
भेनेजुएलासँग कति छ तेल भण्डारण ?
भेनेजुएलासँग विश्वको सबैभन्दा ठुलो तेल भण्डार छ । अमेरिकी ऊर्जा सूचना एडमिनिस्ट्रेसन (ईआईए) का अनुसार भेनेजुएलासँग ३०३ अर्ब ब्यारेल कच्चा तेल मौज्दात छ । तेल उत्पादक देशहरूको सङ्गठन ओपेकको सन् २०२३ को तथ्याङ्क अनुसार भेनेजुएलापछि सबैभन्दा ठुलो तेल मौज्दात राख्ने मुलुक साउदी अरब हो । साउदीसँग २६७ अर्ब ब्यारेल कच्चा तेल मौज्दात छ । इरान तेस्रो ठुलो तेल भण्डार गर्ने मुलुक हो । इरानसँग २०९ अर्ब ब्यारेल कच्चा तेल मौज्दात छ । यस सूचीको ९औँ स्थानमा मात्र अमेरिका छ । अमेरिकासँग ४८ अर्ब ब्यारेल कच्चा तेल मौज्दात रहेको छ ।
भेनेजुएलासँग भएको यो मौज्दात विश्वभरि रहेको कुल तेल भण्डारको पाँच भागको एक भाग हो ।
निकै कम मात्र उत्पादन
विश्वकै सबैभन्दा ठुलो तेल भण्डार भए पनि भेनेजुएलाले हाल प्रतिदिन करिब १० लाख ब्यारेल तेल मात्र उत्पादन गरिरहेको छ । यो विश्व उत्पादनको करिब ०.८ प्रतिशत मात्र हो ।
सन् २०१३ मा राष्ट्रपतिका रूपमा निकोलस मादुरो सत्तामा आएपछि उनले तेल उत्पादन कटौती गर्दै आधामा झारेका थिए । सन् २०१३ देखि २०२० सम्ममा भेनेजुएलामा तेल उत्पादन ७५ प्रतिशतले गिरावट आएको थियो ।
भेनेजुएलामाथि अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्ध र देशमा विद्यमान आर्थिक सङ्कटले तेल उत्पादनमा गिरावट ल्याएको हो । त्यसमा जीर्ण पूर्वाधार तथा मर्मत सम्भारको अभावसँगै लगानीको कमीले योगदान पुर्यायो ।
पुनर्निर्माण वर्षौँ लाग्ने
जानकारहरूका अनुसार भेनेजुएलाको तेल उत्पादन तत्काल पुरानै स्तरमा फर्किन सक्ने अवस्थामा छैन । भेनेजुएला सरकारी स्वामित्वको तेल तथा प्राकृतिक ग्यास कम्पनी (पिडिभिएस) का अनुसार देशका पाइप लाइनहरू ५० वर्षदेखि मर्मत गरिएका छैनन् । उत्पादनलाई उच्चतम स्तरमा पुर्याउन कम्तीमा ५८ अर्ब अमेरिकी डलर खर्च लाग्ने अनुमान छ ।
बजारमा ठुलो असर नपर्ने अनुमान
यस वर्ष अत्याधिक आपूर्तिको भयका कारण विश्व बजारमा तेलको मूल्य नियन्त्रणमै रहेको मानिन्छ । ओपेकले उत्पादन बढाए पनि विश्व अर्थतन्त्र महँगी र क्रयशक्ति सङ्कटसँग जुधिरहेकाले तेलको माग भने घटेको देखिन्छ ।
ट्रम्प प्रशासनले भेनेजुएलाका जहाजहरूबाट तेल कब्जा गर्न थालेपछि अमेरिकी तेलको मूल्य केही समयका लागि प्रति ब्यारेल ६० डलर नाघेको थियो । तर पछि फेरि ५७ डलरमा झरेको छ ।
अमेरिकाका लागि फाइदाजनक
भेनेजुएलाको तेल बाक्लो र सल्फरयुक्त भएकाले उत्पादन र प्रशोधन गर्न विशेष प्रविधि आवश्यक पर्छ । यस्तो तेल डिजेल र औद्योगिक इन्धनका लागि महत्त्वपूर्ण मानिन्छ ।
विज्ञहरूले भेनेजुएलाको तेल खुला भएमा विशेषगरि अमेरिका लाभान्वित हुन सक्ने बताएका छन् । अधिकांश अमेरिकी रिफाइनरी उद्योगहरू भेनेजुएलाको बाक्लो तेल प्रशोधन गर्नकै लागि बनाइएका छन् र अमेरिकी तेलभन्दा यो बढी प्रभावकारी हुन्छ ।
कच्चा तेलको मूल्य पर्ने असर
र्यापिडन एनर्जी ग्रुपका अध्यक्ष बब म्याकन्यालीका अनुसार यदि भेनेजुएलामा सामाजिक अशान्ति बढेन र अवस्था स्थिर रह्यो भने तेलको मूल्यमा ठुलो असर पर्ने छैन ।
“अमेरिकी समर्थनमा भेनेजुएलाले कति चाँडो आफ्नो उत्पादन बढाउन सक्छ भन्ने मूल प्रश्न हो । मेरो विचारमा त्यो हुन् अझै ५ देखि १० वर्ष लाग्छ,” म्याकन्यालीले भने ।
आइतबार राति (नेपाली समय अनुसार) तेल बजार खुल्नेछ । आरबीसी क्यापिटल मार्केट्सकी विश्वव्यापी कमोडिटी रणनीतिकी प्रमुख हेलिमा क्रफ्ट पछिल्लो घटनालाई तेल बजारले कसरी तय गर्छ, त्यसपछि मात्र थाहा हुने बताउँछिन् । “भेनेजुएलाका जनताले अमेरिकी नेतृत्वको शासन परिवर्तनलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने पर्खाई छ । यसबाहेक, ट्रम्पले भेनेजुएलाको तेल क्षेत्र पुनर्जीवित गर्न कति व्यवहारिक कदम चाल्छन् भन्नेमा तेल बजारको दिशा निर्भर हुनेछ,” क्रफ्टको भनाई छ ।
(एजेन्सीहरूको सहयोगमा)