अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट तेल खरिद जारी राखेको भन्दै भारतमाथि पुनः आयात शुल्क (ट्यारिफ) बढाउने चेतावनी दिएका छन्। सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यदि भारतले यस मुद्दामा अमेरिकाको अपेक्षा अनुसार कदम नचालेमा छिट्टै ट्यारिफ बढाइने बताएका हुन्।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘यदि भारतले रुसी तेलको मामिलामा हामीलाई सहयोग गरेन भने, हामी उनीहरूमाथि ट्यारिफ बढाउन सक्छौँ।’
यद्यपि, सोही क्रममा ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा सकारात्मक टिप्पणी पनि गरे। उनले मोदीलाई ‘एक असल मान्छे’ भन्दै भारतले आफूलाई खुसी पार्ने प्रयास गरिरहेको बताए।
समाचार एजेन्सी एएनआईका अनुसार ट्रम्पले भने, ‘प्रधानमन्त्री मोदी धेरै राम्रा मान्छे हुन्। उनलाई थाहा थियो कि म खुसी थिइनँ र मलाई खुसी पार्नु जरुरी थियो। उनीहरू व्यापार गर्छन् र हामी उनीहरूमाथि धेरै छिटो ट्यारिफ बढाउन सक्छौँ।’
ह्वाइट हाउसद्वारा जारी अडियोमा पनि ट्रम्पले रुसबाट तेल खरिदको मामिलामा दबाब बढाउन ट्यारिफ लगाउनु अमेरिकाका लागि ‘छिटो र सजिलो विकल्प’ भएको उल्लेख गरेका छन्।
ट्रम्पसँगै रहेका रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले भने भारत अमेरिकी मागहरूमा काम गरिरहेको दाबी गरे। ग्राहमले भने, ‘म एक महिनाअघि भारतीय राजदूतको घरमा गएको थिएँ। भारतले रुसी तेलको खरिद कम गरिरहेको कुरा उनीहरूले लगातार बताइरहेका छन्। उनले मलाई राष्ट्रपतिसँग २५ प्रतिशतको ट्यारिफ हटाउन भन्न आग्रह गरेका थिए।’
ट्रम्पको दाबी अनुसार अमेरिकाले यसअघि नै भारतमाथि ५० प्रतिशतसम्म ट्यारिफ लगाइसकेको छ, जसमा २५ प्रतिशत ट्यारिफ रुसबाट कच्चा तेल खरिद गरे बापत सजाय स्वरूप लगाइएको थियो। उनका अनुसार अमेरिकाले भारतमाथि लगाएको शुल्क उच्च स्तरमध्ये एक हो। सुरुमा १० प्रतिशत रहेको ट्यारिफ अगस्ट ७ मा २५ प्रतिशत पुर्याइएको थियो भने गत वर्षको अन्त्यसम्म यो ५० प्रतिशत पुगेको ट्रम्पको भनाइ छ।
रुसी र अमेरिकी तेल आयातको अवस्था
आधिकारिक तथ्यांक अनुसार नोभेम्बर २०२५ मा भारतले रुसबाट गरेको तेल आयात पछिल्लो ६ महिनाकै उच्च स्तरमा पुगेको छ। यस अवधिमा भारतको कुल तेल आयातमा रुसी तेलको हिस्सा ३५ प्रतिशत पुगेको छ।
तर, सोही समयमा भारतले अमेरिकासँगको तेल खरिद पनि बढाएको देखिन्छ। नोभेम्बर २०२५ मा अमेरिकाबाट तेल आयात ७ महिनाकै उच्च विन्दुमा पुगेको थियो र भारतको कुल आयातमा अमेरिकी तेलको हिस्सा करिब १३ प्रतिशत रहेको थियो।
हाल भारत र अमेरिकाबीच व्यापक द्विपक्षीय व्यापार सम्झौताका लागि वार्ता जारी छ। दुवै देशले यस सम्झौताको पहिलो चरण छिट्टै टुङ्गिने र सार्वजनिक हुने अपेक्षा गरेका छन्।