बंगलादेशमा अल्पसङ्ख्यक हिन्दू समुदायमाथि लक्षित हिंसाका घटनाहरू डरलाग्दो गरी बढेका छन्। पछिल्लो १८ दिनमा मात्रै हिन्दू भएकै आधारमा ६ जनाको हत्या भएपछि अल्पसंख्यक समुदायमा त्रास र पलायन बढेको छ।
पछिल्ला विभत्स हत्याका घटना
सोमबार राति नरसिंदी जिल्लाको पलाश उपजिल्लामा ४० वर्षीय शरत चक्रवर्ती मणिको धारिलो हतियार प्रहार गरी हत्या गरियो। चारसिन्दूर बजारमा आफ्नै किराना पसल कुरिरहेका बेला अज्ञात समूहले उनीमाथि आक्रमण गरेको थियो। मणिलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो। दुःखद कुरा के छ भने, उनले आफ्नो ज्यान जोखिममा रहेको आशंका पहिले नै गरेका थिए। गत डिसेम्बर १९ मा फेसबुकमा एक पोस्ट लेख्दै उनले आफ्नो इलाकालाई ‘मृत्युको उपत्यका’ संज्ञा दिएका थिए।
त्यस्तै, जनवरी ५ मा जेसोर जिल्लाको मोनिरामपुरमा ‘दैनिक बीडी खबर’का कार्यकारी सम्पादक एवं आइस फ्याक्ट्रीका मालिक राणा प्रताप बैरागीको सार्वजनिक रूपमा गोली हानी हत्या भयो। मोटरसाइकलमा आएका तीन जनाले उनलाई फ्याक्ट्री बाहिर बोलाएर टाउकोमा गोली हानेका थिए। घटनास्थलबाट प्रहरीले सात राउन्ड खोका बरामद गरेको छ।
महिलामाथि सामूहिक बलात्कार र अमानवीय व्यवहार
हिंसा हत्यामा मात्र सीमित छैन। जनवरी ३ मा झेनाइदह जिल्लाको कालीगंजमा ४४ वर्षीया एक हिन्दू विधवा महिलामाथि सामूहिक बलात्कार भएको छ। जग्गाको रिसइबीलाई लिएर आरोपीहरूले महिलाका आफन्तलाई कोठामा थुनेर उनीमाथि कुकृत्य गरेका थिए।
अपराधीहरूले ती महिलाको कपाल काटिदिनुका साथै रूखमा बाँधेर कुटपिट समेत गरेका थिए। सो घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा समेत सार्वजनिक गरिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ। यस घटनामा हसन नामका एक अभियुक्त पक्राउ परेका छन्।
अल्पसंख्यकको बाँच्न पाउने अधिकारमाथि प्रश्न
पछिल्लो १८ दिनमा दिपु चन्द्र दास, ब्रजेंदर बिस्वास, राणा प्रताप बैरागी, अमृत मंडल, खोकन चन्द्र दास र शरत चक्रवर्ती मणीको ज्यान गएको छ। लगातारका यी घटनाले बंगलादेशमा रहेका अल्पसंख्यकहरूको मानव अधिकार र बाँच्न पाउने अधिकारमाथि गम्भीर प्रश्न खडा गरेको छ। सुरक्षा व्यवस्था फितलो हुँदा अल्पसंख्यक समुदायले असुरक्षित महसुस गरिरहेका छन्।