• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अमेरिकी अदालतमा मदुरो: ‘मलाई अपहरण गरियो, अझै पनि भेनेजुएलाको राष्ट्रपति हुँ’

भेनेजुएलाका नेता निकोलस मदुरोले आफूलाई अमेरिकाले ‘अपहरण’ गरेर लगेको दाबी गरेका छन्। न्युयोर्कको एक अदालतमा उपस्थित गराइएका मादुरोले हातगोडामा नेल लगाइएको अवस्थामा आफू अझै पनि भेनेजुएलाको राष्ट्रपति रहेको जिकिर गरे।

सोमबार दिउँसो भएको ४० मिनेटको नाटकीय सुनुवाइका क्रममा मदुरोले न्यायाधीश एल्विन हेलरस्टिनसँग भने, ‘म निकोलस मदुरो हुँ। म भेनेजुएला गणतन्त्रको राष्ट्रपति हुँ र ३ जनवरीदेखि यहाँ अपहरणमा परेको छु। मलाई कराकासस्थित आफ्नै घरबाट समातिएको हो।’

६३ वर्षीय मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसले आफूहरूमाथि लगाइएको लागूऔषध र हतियार ओसारपसार सम्बन्धी सबै आरोपहरू अस्वीकार गरेका छन्। मादुरोले आफूलाई ‘सभ्य मानिस’ र ‘निर्दोष’ भएको बताए। उनकी पत्नी फ्लोरेसले पनि आफू पूर्ण रूपमा निर्दोष रहेको बयान दिइन्।

मदुरो र उनकी पत्नीलाई गत शनिबार भेनेजुएलाको राजधानी कराकासस्थित उनीहरूको निवासबाट अमेरिकी सेनाले पक्राउ गरेको थियो। यो एक आकस्मिक र रातारात गरिएको सैन्य कारबाही थियो, जसमा केही सैन्य ठेगानाहरूमा मिसाइल आक्रमण समेत भएको थियो। पक्राउपछि उनीहरूलाई सिधै न्युयोर्कको जेलमा ल्याइएको थियो।

अदालतमा मादुरो दम्पती नीलो र सुन्तला रङको जेल पोसाकमा उपस्थित थिए। सुनुवाइको क्रममा मदुरो गम्भीर देखिन्थे र उनले स्पेनिस अनुवाद सुन्न हेडफोन लगाएका थिए। पक्राउ पर्ने क्रममा भएको झडपका कारण मादुरोकी पत्नी फ्लोरेसको अनुहार र आँखा नजिक चोटका निसानहरू देखिएका थिए। उनका वकिलहरूले अदालतसँग उचित उपचारको माग गरेका छन्।

सुनुवाइ सकिनै लाग्दा दर्शक दीर्घाबाट एक व्यक्तिले ‘मादुरो’ तिमीले आफ्नो अपराधको मूल्य चुकाउनुपर्छ भन्दै चिच्याएपछि मादुरोले जवाफमा ‘म अपहरण गरिएको राष्ट्रपति र युद्धबन्दी हुँ’ भनेर चिच्याएका थिए।

अमेरिकाले मदुरोमाथि ‘नार्को–आतंकवाद’ (लागूऔषध आतंकवाद), कोकिन तस्करीको षड्यन्त्र र घातक मेसिनगन तथा विस्फोटक उपकरणहरू राखेको जस्ता गम्भीर अभियोगहरू लगाएको छ। यो मुद्दामा मदुरोका छोरा र अन्य केही अधिकारीहरूलाई पनि प्रतिवादी बनाइएको छ।

यस मुद्दाको अर्को सुनुवाइ आगामी मार्च १७ मा हुने तय भएको छ।