काठमाडौँ । सन् २०२६ मा तपाईंले प्रयोग गर्ने स्मार्टफोन, कम्प्युटर र अन्य विद्युतीय उपकरणहरूको मूल्यमा उल्लेख्य वृद्धि हुने देखिएको छ। यसको मुख्य कारण ग्याजेटहरूमा प्रयोग हुने ‘र्याम’ (RAM) को मूल्यमा भइरहेको तीव्र वृद्धि हो।
तथ्यांकअनुसार अक्टोबर २०२५ पछि र्यामको मूल्य दोब्बरभन्दा बढीले बढिसकेको छ। र्यामको प्रयोग कम्प्युटर र स्मार्टफोनमा मात्र नभई स्मार्ट टिभीदेखि मेडिकल डिभाइसहरूमा समेत हुने गर्दछ।
र्यामको मूल्य बढ्नुको प्रमुख कारण आर्टिफिसियल इन्टेलिजेन्स (AI) सँग सम्बन्धित डेटा सेन्टरहरूको तीव्र विकास हो। एआई सञ्चालनका लागि उच्च क्षमताको र्याम आवश्यक पर्छ, जसका कारण बजारमा यसको माग र आपूर्तिबीच ठूलो खाडल सिर्जना भएको छ।
कम्प्युटर उत्पादक कम्पनी ‘साइबर पावर पीसी’ का जनरल म्यानेजर स्टीव मेसन भन्छन्, “हामीलाई केही महिनाअघिको तुलनामा अहिले लागत करिब ५०० प्रतिशत बढी भनिएको छ। अब उत्पादकहरू उपभोक्ताका लागि मूल्य बढाउन बाध्य हुनेछन्।”
‘चिप वार’ का लेखक क्रिस मिलरका अनुसार एआईलाई ‘हाई इन्ड हाई ब्यान्डविथ’ मेमोरीको आवश्यकता पर्ने भएकाले चिपको माग अस्वभाविक रूपमा बढेको हो। अमेजन, गुगल र माइक्रोसफ्ट जस्ता ठूला कम्पनीहरूले सन् २०२६ र २०२७ का लागि अहिले नै मेमोरी चिपहरू बुक गरिरहेका छन्।
टेक इन्साइड्सका माइक होवर्डका अनुसार आपूर्तिले मागलाई धान्न नसक्दा केही उत्पादकहरूले त अहिले मूल्य तोक्न नै बन्द गरेका छन्, जसले भविष्यमा मूल्य अझै बढ्ने संकेत गर्दछ। सामान्यतया कम्प्युटरको कुल लागतमा मेमोरीको हिस्सा १५ देखि २० प्रतिशत हुन्थ्यो, तर अहिले यो बढेर ३० देखि ४० प्रतिशत पुगेको छ।
विज्ञहरूका अनुसार सन् २०२६ मा ल्यापटप १६ जीबी र्याम भएको सामान्य ल्यापटपको मूल्यमा ४० देखि ५० डलर (करीब ५–७ हजार रुपैयाँ) सम्म वृद्धि हुन सक्छ। स्मार्टफोन मोबाइलको मूल्यमा औसत ३० डलरसम्म वृद्धि हुन सक्ने अनुमान छ।
बढ्दो महँगीका कारण सन् २०२६ मा उपभोक्ताहरूसँग सीमित विकल्प हुनेछन्। पीसी स्पेसलिस्टका ड्यानी विलियम्सका अनुसार मानिसहरूले कि त महँगो मूल्य तिर्नुपर्नेछ, कि कम पावरफुल (थोरै र्याम भएको) डिभाइस किन्नुपर्नेछ। अर्को विकल्प भनेको आफ्नो पुरानो डिभाइसलाई नै मर्मत गरेर लामो समयसम्म चलाउनु हुनेछ।
र्याम उत्पादक ठूलो कम्पनी ‘माइक्रोन’ ले सामान्य प्रयोगकर्ताका लागि चिप बनाउनुको साटो एआई बजारमा केन्द्रित हुने निर्णय गरिसकेको छ, जसले सामान्य उपभोक्ताका लागि विकल्पहरू अझै कम गरिदिएको छ। सन् २०२६ र २०२७ सम्म प्रविधि बजारका लागि यो आपूर्ति र मूल्यको असन्तुलन ठूलो चुनौती बन्ने निश्चित छ।