• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बंगलादेशमा रोकिएन हिंसा, बीएनपी नेताको गोली हानी हत्या

बंगलादेशमा आगामी फेब्रुअरी १२ मा हुने राष्ट्रिय निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक हिंसा तीव्र बनेको छ। यसै क्रममा राजधानी ढाकाको कारवान बजार क्षेत्रमा प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको छ।

बीएनपीको स्वयंसेवी शाखा ‘ढाका सिटी नर्थ स्वेच्छा सेवक दल’का पूर्व महासचिव मुसब्बिरमाथि बुधबार राति करिब साढे ८ बजे अज्ञात बन्दुकधारीले आक्रमण गरेका थिए। कारवान बजारस्थित सुपर स्टार होटल नजिकैको गल्लीमा पैदल हिँडिरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो।

तेजगाउँ डिभिजनका अतिरिक्त प्रहरी उपायुक्त (एडिसी) फजलुल करिमका अनुसार गम्भीर घाइते भएका मुसब्बिरलाई पन्थपथस्थित बीआरबी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। सोही आक्रमणमा परी ‘तेजगाउँ थाना वन श्रमिक युनियन’का महासचिव अबु सुफियान मसुद पनि घाइते भएका छन्। उनको अहिले ढाका मेडिकल कलेजमा उपचार भइरहेको छ।

आफ्ना नेताको हत्यापछि क्रुद्ध बनेका बीएनपी कार्यकर्ताहरूले बुधबार राति नै सोनारगाउँ चोक र आसपासका क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले हत्यारालाई तत्काल पक्राउ गर्न र सुरक्षाको प्रत्याभूति गर्न माग गरेका छन्। मुसब्बिरले यसअघि अवामी लिगको शासनकालमा लामो समय जेल जीवन बिताएको र दर्जनौँ राजनीतिक मुद्दाहरू खेपेको पार्टी स्रोतले जनाएको छ।

केही समयअघि अर्का युवा नेता उस्मान हादीको हत्या भएको केही दिनमै मुसब्बिरको हत्या भएपछि मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारमाथि शान्ति सुरक्षालाई लिएर प्रश्न उठ्न थालेको छ। निर्वाचन नजिकिँदै गर्दा बंगलादेशभरि राजनीतिक हिंसाका घटनाहरू बढ्दै गएका छन्। उस्मान हादीका परिवार र विपक्षी दलहरूले निर्वाचन स्थगित गराउने वा बिथोल्ने उद्देश्यले यस्ता लक्षित हत्याहरू भइरहेको आरोप लगाएका छन्।

ढाका प्रहरीले आक्रमणकारीहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा भएको यो घटनाले ढाकासहित बंगलादेशका प्रमुख सहरहरूमा त्रास र सुरक्षा चुनौती थपेको छ।

–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा ।