• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

६६ वटा अन्तर्राष्ट्रिय संगठनबाट फिर्ता हुने अमेरिकाको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ (यूएन) र अन्य ६६ वटा अन्तर्राष्ट्रिय संगठनहरूबाट अमेरिकालाई फिर्ता गराउने घोषणा गरेका छन्।

ट्रम्पले अमेरिकी हित विपरीत अन्तर्राष्ट्रिय संस्थाहरू, सन्धिहरू र सम्झौताहरूबाट फिर्ता लिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । अमेरिकाले यी संस्थाहरू या त ‘अनावश्यक’ वा अमेरिकीहित विरुद्ध काम गरिरहेको बताएको छ। यसअन्तर्गत जलवायु परिवर्तन, शान्ति र लोकतन्त्रमा सहयोगका प्रमुख मञ्चहरू समावेश रहेको अलजजिराले जनाएको छ ।

ह्वाइट हाउसले बुधबार साँझ सेयर गरेको राष्ट्रपतिको मेमोमा ट्रम्पले यो निर्णय अमेरिकाको हितविपरीतका संगठन, सम्मेलन र सन्धिहरूको समीक्षापछि आएको बताए ।

यो सम्झौताअनुसार अमेरिकाले ती संस्थामा सहभागिता नजनाउने साथै सबै सहयोग कोष कटौती गर्ने ट्रम्पले घोषणा गरेका छन् ।

ह्वाइट हाउसका अनुसार ३५ गैरयूएन संगठन छन्, जसमा अन्तरसरकारी जलवायु परिवर्तन प्यानल (आईपीसीसी), अन्तर्राष्ट्रिय लोकतन्त्र र निर्वाचन सहायता संस्था तथा प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ समावेश छन् ।

आईपीसीसीलाई ह्वाइट हाउसले गैरयूएन निकायहरूको सूचीमा राखे पनि यो संयुक्त राष्ट्रसंघको संगठन हो । यसले जलवायु परिवर्तनसँग सम्बन्धित प्रमाणको मूल्यांकन गर्न शीर्ष वैज्ञानिकलाई एकत्रित गर्छ र राजनीतिक नेतालाई सूचित गर्न आवधिक वैज्ञानिक मूल्यांकन प्रदान गर्छ ।

यसबाहेक, ह्वाइट हाउसले ३१ यूएन निकायबाट फिर्ता हुने बताएको छ, जसमा संयुक्त राष्ट्रसंघको उच्च जलवायु परिवर्तन सन्धि निकाय संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन फ्रेमवर्क सम्मेलन (यूएनएफसीसीसी), संयुक्त राष्ट्रसंघ लोकतन्त्र कोष र मातृ तथा बाल स्वास्थ्यमा काम गर्ने शीर्ष संयुक्त राष्ट्रसंघीय निकाय युएनएफपीए समावेश छन् ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका रूपमा अमेरिकासँग संयुक्त राष्ट्रसंघमा उल्लेखनीय शक्ति छ ।

गत वर्ष जनवरीमा दोस्रो कार्यकाल सुरु भएयता ट्रम्पले पहिल्यै अमेरिकालाई विश्व स्वास्थ्य संगठन, पेरिस जलवायु सम्झौता र संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्बाट फिर्ता गरिसकेका छन् ।

ट्रम्पले आफ्नो पहिलो प्रशासनमा पनि यी तीन संगठन छाडेका थिए । यद्यपि, पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले ती सबैमा पुनः सहभागिता जनाएको थियो ।