• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

ट्रम्प सत्तामा फर्किएपछि १ लाख बढी आप्रवासीको भिसा खारेज

राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि अमेरिकाले १ लाखभन्दा बढी भिसा खारेज गरेको छ । अमेरिकी विदेश मन्त्रालयले ट्रम्पले प्रशासन सम्हालेको २०२५ जनवरी २० यता १ लाख बढी भिसा रद्द गरिएको जनाएको हो ।

मन्त्रालयका अनुसार खारेज गरिएका भिसामध्ये करिब ८ हजार विद्यार्थी भिसा र २ हजार ५ सय विशिष्टीकृत कामदार भिसा रहेका छन् । मन्त्रालयले आपराधिक गतिविधिसँग सम्बन्धित भएकाले उनीहरुको भिसा रद्द गरिएको उल्लेख गरेको भएपनि उनीहरुमाथि औपचारिक अभियोग लागेको थियो वा थिएन भन्ने खुलाएको छैन ।

विदेश मन्त्रालयका उपप्रवक्ता टमी पिगटका अनुसार भिसा खारेज हुनुका प्रमुख चार कारण ओभरस्टे, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, कुटपिट र चोरी रहेछन् । उनले २०२४ को तुलनामा भिसा खारेजी १५० प्रतिशतले बढेको समेत बताए ।

यो कदम ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि सुरु गरिएको कडा आप्रवासन नीति अन्तर्गतको एक हिस्सा रहेको मन्त्रालयको भनाई छ । प्रशासनले गत महिना मात्र २५ लाखभन्दा बढी आप्रवासीलाई देशबाट निकालिएको दाबी गर्दै त्यसलाई ‘रेकर्ड ब्रेक उपलब्धि’ भनेको थियो ।

तर ती निर्वासनमध्ये केही वैध भिसा भएका आप्रवासी समेत परेकाले कानुनी प्रक्रिया र मानव अधिकार सम्बन्धी प्रश्न उठेका छन् ।