• २०८३ असार १५
  • 2026 June 29, Monday

पूर्णबहादुर खड्काको दाबी: विशेष महाधिवेशनबाट ८ सय ८५ प्रतिनिधि फर्किएर संस्थापनमा आए

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वको समूहले गरेको भनिएको विशेष महाधिवेशनमा सहभागी भएका भनिएका ८८५ जना प्रतिनिधिहरू आफूहरूको पक्षमै फर्किएको दाबी गरेका छन्।

बिहीबार पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका खड्काले आयोगका पदाधिकारीसमक्ष उक्त जानकारी गराएका हुन्। खड्काले भने, ‘विशेष महाधिवेशनमा हस्ताक्षरकर्ता र सहभागी भनिएका मध्ये ८८५ जनाले हामी यसबाट अलग रहेको र फिर्ता लिएको भन्दै आफ्नो हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा निवेदन बुझाउनुभएको छ।’

कार्यवाहक सभापति खड्काले ती प्रतिनिधिहरूले आफूलाई सम्बोधन गरेर पठाएको हस्ताक्षर र विवरण पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिवले प्रमाणीकरण गरेको जानकारी दिए।

‘८८५ जनाले फिर्ता गरेको हस्ताक्षरसहितको विवरण हामीसँग आएको छ। मुख्य सचिवको हस्ताक्षर रहेको ‘कभरिङ लेटर’ सहित आधिकारिक रूपमा त्यो विवरण हामी आयोगमा बुझाउन चाहन्छौं’, खड्काले भने।