• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

१९५३ मा जब अमेरिका र बेलायतले इरानको सरकार ढलाए…

त्यस रात इरानको राजधानी तेहरानको वातावरणमा भारी बेचैनी थियो। केही ठूलो घटना हुनेवाला थियो। मध्यरातमा सैनिकले भरिएको एउटा ट्रक प्रधानमन्त्रीलाई पक्राउ गर्न प्रस्थान गर्‍यो, तर पहिले नै सूचना पाएका कारण प्रधानमन्त्रीका वफादार अधिकारीहरूले ती सैनिकहरूलाई नै नियन्त्रणमा लिए।

यद्यपि, यो स्थिति धेरै दिन टिकेन। ‘सत्तापलट’को यो षड्यन्त्रको जरा निकै गहिरो थियो।

यो इरानमा हालै भएका प्रदर्शनहरूको कुरा होइन, बरु १५ अगस्ट १९५३ को रातको कुरा हो। तत्कालीन इरानी प्रधानमन्त्री मोहम्मद मुसद्दिक़लाई हटाउनका लागि रचिएको यस षड्यन्त्रमा अमेरिका र बेलायतसहित स्वयम् इरानका शाह पनि संलग्न थिए। मोहम्मद मुसद्दिक़ चार दिनपछि नै यस षड्यन्त्रको सिकार भए र उनको सरकार ढालियो।

सन् २०१३ मा सीआइएद्वारा सार्वजनिक गरिएका दस्ताबेजहरूमा पहिलो पटक आधिकारिक रूपमा स्वीकार गरिएको थियो कि १९५३ मा मुसद्दिक़ सरकार ढाल्न सीआइएले मुख्य भूमिका खेलेको थियो। ती दस्ताबेजहरूका अनुसार, इरानमा सैन्य ‘कू’ सीआइएको निर्देशनमा अमेरिकी विदेश नीतिको एउटा कदमका रूपमा गरिएको थियो।

यो कथाको सुरुवात सन् १९०८ मा इरानमा तेलको खोजीसँगै भएको थियो। बेलायतले ‘एंग्लो-पर्शियन आयल कम्पनी’ मार्फत तेलको आम्दानीको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको थियो भने इरानले आफ्नै प्राकृतिक स्रोतबाट मात्र १० देखि १२ प्रतिशत हिस्सा पाउँथ्यो।

सन् १९५१ मा इरानी संसद्ले तेल उद्योगको राष्ट्रियकरण गर्ने पक्षमा मतदान गर्‍यो र यस कानुनका प्रमुख समर्थक डा. मोहम्मद मुसद्दिक़ प्रधानमन्त्री चुनिए। जब बेलायतले आफ्नो हित खतरामा देख्यो, उसले मुसद्दिक़ सरकारलाई कमजोर र अस्थिर बनाउन एउटा गोप्य अभियान सुरु गर्‍यो।

बेलायतले यस कार्यमा अमेरिकालाई पनि साथ मिलायो। मुसद्दिक़ कम्युनिस्ट विरोधी भए पनि उनी कम्युनिस्ट पार्टीको नजिक जाँदैछन् भन्ने अफवाह फैलाइयो, ताकि शीतयुद्धको समयमा अमेरिकालाई त्रसित बनाउन सकियोस्।

यो कारबाहीलाई अमेरिकाले ‘अपरेसन एजेक्स’ र बेलायतले ‘अपरेसन बुट’ नाम दिएका थिए। षड्यन्त्र अनुसार, इरानका युवा शाह मोहम्मद रजा पहलवीले मुसद्दिक़लाई बर्खास्त गर्ने र जनरल फजलुल्लाह जाहिदीलाई प्रधानमन्त्री नियुक्त गर्ने शाही उर्दी (फरमान) जारी गर्नुपर्ने थियो।

सुरुमा शाह निकै हिचकिचाएका थिए। उनलाई मनाउन सीआइएले उनकी शक्तिशाली बहिनी राजकुमारी अशरफ पहलवीलाई प्रयोग गर्‍यो। उनलाई ठूलो रकम दिएर आफ्नो भाइ (शाह) लाई मनाउन इरान पठाइएको थियो।

१५ अगस्टको रात विद्रोह सुरु भयो, तर एक सैन्य अधिकारीले सूचना चुहाएका कारण मुसद्दिक़ सतर्क भए। प्रधानमन्त्रीलाई पक्राउ गर्न गएका सैनिकहरू नै समातिए। अर्को बिहान तेहरान रेडियोले सरकारविरुद्धको विद्रोह असफल भएको घोषणा गर्‍यो।

डरका कारण शाह भागेर पहिले बग्दाद र त्यसपछि रोम पुगे। तेहरानमा प्रदर्शनकारीहरूले शाहका मूर्तिहरू ढाल्न थाले। सीआइएको मुख्यालयले आफ्ना एजेन्टहरूलाई फिर्ता आउन सल्लाह दियो। तर, सीआइएका अधिकारी करमिट रूजवेल्टले हार नमानी अन्तिम प्रयास गर्ने निर्णय गरे।

१९ अगस्टको बिहान तेहरानका सडकमा अचानक माहोल बदलियो। सीआइएका एजेन्टहरूले शाहको समर्थनमा भीड जम्मा गर्न थाले। सीआइएद्वारा परिचालित एजेन्टहरूले अखबारका कार्यालयहरूमा आगजनी गरे र अराजकता फैलाए।

दिउँसोसम्म शाह समर्थक सैनिक र भीडले टेलिग्राफ अफिस, पुलिस हेडक्वाटर र रेडियो स्टेशनमा कब्जा जमाए। रेडियोबाट शाहको समर्थनमा घोषणा गरियो र जनरल जाहिदीलाई नयाँ प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरियो।

डा. मुसद्दिक़ र अन्य सरकारी अधिकारीहरूलाई पक्राउ गरियो। मुसद्दिक़लाई सुरुमा मृत्युदण्डको सजाय सुनाइएको थियो, तर पछि शाहको आदेशमा तीन वर्षको एकान्त कारावास र त्यसपछि आजीवन नजरबन्दमा राखियो। सन् १९६७ मा नजरबन्दकै अवस्थामा उनको मृत्यु भयो।

–पत्रकार तथा अनुसन्धानकर्ता वकार मुस्तफाले बीबीसी हिन्दीका लागि तयार पारेको सामग्रीको भावानुवाद