• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भोलिबाट निर्वाचन आचारसंहिता लागू, के-के गर्न पाइँदैन् ?

काठमाडौं । निर्वाचन आयोगले भोलि माघ ५ गतेदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । आयोगको कार्यालयमा आज बसेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसहित पदाधिकारीहरूको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता हुनुअघि नै आचारसंहिता लागु गर्ने आयोगले निर्णय गरेको हो । आयोगले माघ ६ गतेलाई प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकेको छ ।

लागु हुने आचारसंहिताअन्तर्गत निर्वाचन प्रचार-प्रसार, उम्मेदवारका गतिविधि, सरकारले गर्ने नियुक्ति तथा सञ्चारमाध्यममार्फत प्रकाशन हुने सामग्रीको समेत निगरानी गरिने आयोगले जनाएको छ । आचारसंहिता यसअघि नै जारी भइसकेको भए पनि भोलिदेखि पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ ।

आचारसंहितामा निर्वाचित दल वा उमेदवारले प्रत्येक वर्ष घोषणाापत्रअनुसार कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय राखिएको छ । त्यस्तै, विगतमा नभएको हरित निर्वाचन सम्बन्धि आचारणको विषय राखिएको छ ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक उम्मेदवारले प्रचारप्रसारमा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ ।

निर्वाचन अधिकृतको अनुमति लिई उमेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उमेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारीसाधन र त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने व्यवस्था आचारसंहितामा राखिएको हो ।

राजनीतिक दल, उमेदवार, पार्टीका भातृसंगठन तथा सम्बन्धित व्यक्तिले सवारीसाधन प्रयोग गर्दा विदेशी नम्बर प्लेटलाई अनुमति नदिइने आचारसंहितामा उल्लेख छ।

त्यस्तै हेलिकोप्टर सेवा प्रयोग गर्दा आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका उमेदवारको संख्याका आधारमा राजनीतिक दलले गर्न पाउने खर्चको सीमाभित्र रहेर गर्नुपर्ने पनि उल्लेख छ ।