जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले संसद् विघटन गरी फेब्रुअरी ८ मा आम निर्वाचन गर्ने घोषणा गरेकी छन् । सोमबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ताकाइचीले आउँदो शुक्रबार संसद् विघटन गरी ताजा जनादेशमा जाने घोषणा गरेकी हुन् ।
निर्वाचनमार्फत उनले सरकार सञ्चालनका लागि जनताबाट अझ बलियो जनादेश लिन चाहेको बताएकी छन् ।
ताकाइचीले भनिन्, “यो निर्णय अत्यन्तै गम्भीर र जनतासँग मिलेर जापानको भविष्य तय गर्ने खालको छ । त्यसैले म सबै मतदाताहरुसँग देशको नेतृत्व आफूलाई सुम्पन आग्रह गर्दछु ।”
ताकाइचीका अनुसार निर्वाचनमार्फत प्रतिनिधि सभाका सबै ४६५ सिटमा नयाँ जनप्रतिनिधि चुनिने छन् । गत अक्टोबरमा जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीका लागि यो पहिलो चुनावी परीक्षा हुनेछ ।
उनको नेतृत्वमा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल हो । तर एलडीपीले जापान इनोभेसन पार्टीसँग गठबन्धन गरेर मुश्किलले बहुमत जोगाइरहेको छ । यस अवस्थामा ताकाइचीले समयमै चुनाव गराएर आफ्नो पकड बलियो बनाउने रणनीति लिएकी विश्लेषण छ । तर पछिल्ला वर्षहरूमा एलडीपी नेतृत्व अस्थिर रहँदै आएको र अघिल्ला प्रधानमन्त्रीहरूको कार्यकाल निकै छोटो रहेको इतिहासले ताकाइचीको यो कदमलाई जोखिमपूर्ण मानिएको छ ।
नीतिगत रूपमा ताकाइचीले ठूलो सरकारी खर्च, कर कटौती र नयाँ सुरक्षा रणनीतिलाई चुनावी एजेन्डा बनाएकी छन् । उनले खाद्यान्नमा लाग्ने ८ प्रतिशत उपभोग कर दुई वर्षका लागि स्थगन गर्ने वाचा गरेकी छन् । यसले रोजगारी सिर्जना, घरपरिवारको खर्च बढाउने र समग्र अर्थतन्त्र चलायमान बनाउने उनको दाबी छ । यद्यपि, सरकारी अनुमानअनुसार कर कटौतीले वार्षिक करिब ५ ट्रिलियन येन राजस्व घट्न सक्ने भएकाले यसले वित्तीय बजारमा समेत असर देखिएको छ ।
सुरक्षा नीतिमा उनले रक्षा खर्च तीव्र रूपमा बढाउने योजना अघि सारेकी छन् । हालै उनको मन्त्रिपरिषद्ले ऐतिहासिक ९ ट्रिलियन येनको रक्षा बजेट स्वीकृत गरेको छ । चीनको बढ्दो सैन्य गतिविधिलाई जापानको सबैभन्दा ठूलो रणनीतिक चुनौती भन्दै ताकाइचीले ताइवानमाथि आक्रमण भएमा आत्मरक्षा बल प्रयोग गर्न सकिने अभिव्यक्ति दिएकी थिइन् । यहीकारण चीनसँगको जापानको कूटनीतिक सम्बन्ध दशकयताकै न्यूनतम बिन्दुमा पुगेको छ । अर्कोतर्फ, उनले अमेरिकासँग सम्बन्ध मजबुत बनाउँदै दुर्लभ खनिज तथा सुरक्षा सहकार्यसम्बन्धी सम्झौता गरेकी छन् ।
घरेलु राजनीतिक मोर्चामा समेत चुनौती बढ्दै गएको छ । हालै जापानको प्रमुख विपक्षी संवैधानिक लोकतान्त्रिक पार्टीले एलडीपीको पूर्वसाझेदार कोमेइतोसँग मिलेर नयाँ ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ गठन गरेको छ । यसले आगामी चुनावमा सत्तारूढ दललाई कडा चुनौती दिने अपेक्षा गरिएको छ । साथै, महँगी बढ्दै गएको वर्तमान अवस्थामा मतदाताहरू खर्च र जीवनयापनको समस्याप्रति बढी चिन्तित देखिएका छन् ।
सार्वजनिक सर्वेक्षणहरूमा ताकाइचीको लोकप्रियता अझै ६० देखि ८० प्रतिशतको बीचमा रहेको छ । तर पनि निर्वाचन परिणामले मात्र उनको राजनीतिक भविष्यसँगै जापानको आगामी आर्थिक र सुरक्षा नीतिलाई स्पष्ट दिशा प्रदान गर्नेछ ।