• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

शुक्रबार साँझदेखि पहिलो हिउँदे वर्षाको सम्भावना, कहाँ–कहाँ पर्छ पानी ?

दोस्रो वर्षा मंगलबारदेखि

काठमाडौं । मौसमविदहरुले शुक्रबार अपराह्नदेखि पश्चिम नेपालबाट वर्षा सुरू हुने प्रक्षेपण गरेका छन्। पश्चिमी वायुको प्रभावका कारणले नेपालको पश्चिमी भूभागमा वर्षा हुन लागेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए।

उनी भन्छन् ‘अपराह्नदेखि आज यो वर्षको पहिलो माघेझरी आउन लागेको छ ।’ यसपटक पश्चिम नेपालमा अर्थात् सुदूपश्चिमदेखि गण्डकीसम्म मध्यम वर्षा हुने उनले बताए । बागमती र कोशीका केही ठाउँमा हल्का वर्षाको मात्रै सम्भावना छ।

उनले दोस्रो माघेझरी मंगलबार भित्रन लागेको पनि प्रक्षेपण गरेका छन्। त्यसले नेपालभर वर्षा गराउने उनको आँकलन छ।

यसैगरी, जलवायु विज्ञ तथा मौसमविद् धर्मराज उप्रेतीले हिउँदयाम सुरु भएदेखिको लामो खडेरी अन्त्य हुने विश्वास गरेका छन् । पश्चिम नेपालबाट प्रवेश गर्ने नयाँ मौसमी प्रणालीका कारण देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको उनले बताएका छन् ।

यो वर्षा मुख्यतया पश्चिम केन्द्रित हुने भए पनि यसले वन–वातावरण र कृषि क्षेत्रमा ठूलो राहत पुर्‍याउने उप्रेतीको भनाइ छ । विशेषगरी उच्च हिमाली क्षेत्रमा हुने हिमपातले पानीका मुहानहरू रिचार्ज गर्न मद्दत पुग्ने उनले बताए ।

हाल यो प्रणाली पाकिस्तान र भारतको जम्मु कास्मिर तथा हिमाञ्चल प्रदेशमा सक्रिय छ, जहाँ भारी हिमपात र मध्यम वर्षा भइरहेको छ । सोही सक्रिय पश्चिमी वायु नेपाल प्रवेश गर्नेछ ।

यसको प्रभावले सुदूरपश्चिम र कर्णालीका केही स्थानमा शुक्रबार अबेर साँझतिर असिनापानी पर्ने सम्भावना रहेको छ । वर्षाको समयमा दुई दिन चिसो बढ्ने भए पनि त्यसपछि तापक्रम २ देखि ३ डिग्री सेल्सियसले वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

पश्चिमी क्षेत्रमा सुरु हुने यो मौसमी गतिविधि लगत्तै माघ १३ गतेदेखि अर्को नयाँ मौसमी प्रणाली भित्रिने जानकारी उप्रेतीले पनि दिए । उनले भने ‘उक्त प्रणाली भने काठमाडौँ उपत्यकासम्म नै आइपुग्ने छ र यसले देशभरको मौसममा थप प्रभाव पार्नेछ ।’

जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि पश्चिमी न्यूनचापीय प्रणालीका कारण शुक्रबार अपराह्नबाट सुदूरपश्चिम क्षेत्रबाट बादल लाग्न सुरु हुने जनाएको छ । ‘शुक्रबार अपराह्नपछि सुदूरपश्चिमका थोरै ठाउँमा हल्का पानी पर्ने देखिन्छ,’ महाशाखाका मौसमविद् डेभिट ढकालले भने, ‘राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा केही ठाउँमा पानी पर्ने सम्भावना छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यम हिमपात पनि हुनेछ ।’

यसबाहेक अन्य प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि थोरै हिमपातको आकलन गरिएको छ । तर, समग्रमा यो प्रणालीले पश्चिम नेपालमा असर गर्ने देखिन्छ । शुक्रबार राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा गण्डकीका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, राति नै गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बागमती प्रदेशको एक–दुई स्थानमा मध्यम हिमपातसहित वर्षा र कोशीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना छ ।

हिउँदयाममा ‘शून्य’ वर्षा

नेपालमा मनसुन अर्थात् जेठदेखि असोजसम्मको वर्षा बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाका कारण हुन्छ। तर, हिउँदमा हुने वर्षाको कहानी फरक छ। यसको ‘कनेक्सन’ हजारौँ किलोमिटर टाढा रहेको भूमध्य सागरसँग जोडिन्छ।

हिउँदे वर्षा गराउने मुख्य प्रणालीलाई ‘पश्चिमी वायु’ भनिन्छ। यो एक प्रकारको आँधी हो, जुन भूमध्य सागरको आसपासबाट उत्पन्न हुन्छ। त्यहाँको समुद्रबाट जलवाष्प बोकेर उठेको यो वायुलाई माथिल्लो वायुमण्डलमा चल्ने तीव्र गतिको हावाले पूर्वतर्फ धकेल्छ।

यो वायु इरान, अफगानिस्तान, पाकिस्तान र भारतको जम्मु–कश्मीर भएर नेपाल प्रवेश गर्छ। जब यो ओसिलो हावा नेपालको उत्तरमा रहेको अग्लो हिमालय शृङ्खलासँग ठोक्किन्छ, तब यो माथि उठ्छ र चिसिन्छ। परिणाम स्वरूप, उच्च हिमाली भेगमा हिमपात हुन्छ भने पहाडी भू–भागमा वर्षा हुन्छ। यही प्रणालीले तराईको बाक्लो हुस्सुलाई पनि धकेलेर मौसम सफा बनाउन भूमिका खेल्छ।

मौसमविद्हरुका अनुसार मंसिर १६ गतेदेखि हिउँदे अवधि सुरु भएयता देशभर पानी परेको छैन। लामो समय पानी नपर्दा वायुमण्डलमा प्रदूषणको मात्रा बढेको छ भने गहुँ, जौ जस्ता हिउँदे खेतीका लागि यो अवस्था निकै घातक बनिरहेको छ ।