• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

डोनाल्ड ट्रम्पको हातमा किन देखियो निलो डाम ? उनले नै खुलाए रहस्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हातमा देखिएको निलो दागबारे जानकारी दिएका छन्। उनले आफ्नो हात टेबलमा ठोक्किएको कारण त्यस्तो भएको बताएका हुन्।

एयरफोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले एस्पिरिन औषधिको सेवनका बारेमा पनि चर्चा गरे।

जब एक पत्रकारले उनलाई सोधे, ‘तपाईँको हातमा एउटा निशान देखिएको छ, के तपाईँ ठिक हुनुहुन्छ ?’

यसको जवाफमा ट्रम्पले भने, ‘हो, म पूर्ण रूपमा ठिक छु। हात टेबलमा ठोक्किएको थियो, त्यसैले मैले त्यसमा थोरै क्रिम लगाएँ।’

उनले थप स्पष्ट पार्दै भने, ‘म भन्न चाहन्छु कि यदि तपाईँ आफ्नो मुटुको ख्याल गर्नुहुन्छ भने एस्पिरिन खानुहोस्, तर यदि तपाईँ आफ्नो हातमा यस्तो दाग चाहनुहुन्न भने एस्पिरिन नखानुहोस्।’

ट्रम्पका अनुसार डाक्टरले उनलाई औषधि खान आवश्यक नभएको बताएका थिए। उनले भने, ‘डाक्टरले भन्नुभएको थियो— सर, तपाईँलाई यो औषधि खानु पर्दैन, तपाईँ निकै स्वस्थ हुनुहुन्छ। तर मैले भनेँ, म कुनै जोखिम लिन चाहन्नँ। खैर, एस्पिरिन लिनुको यो एउटा साइड इफेक्ट हो।’

स्विट्जरल्याण्डको डाभोसमा आयोजित ‘वर्ल्ड इकोनोमिक फोरम’ लाई सम्बोधन गर्ने क्रममा ट्रम्पको हातमा निलो डाम देखिएको थियो। त्यसपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यसबारे विभिन्न अड्कलबाजीहरू सुरु भएका थिए।