म्याग्दी । म्याग्दी जिल्लाको विकट तर सुन्दर भूगोल, धौलागिरी हिमालको काखमा अवस्थित ताकमको धारापानी गाउँ। यही माटोमा वि.सं २०४० साल चैत २८ गते एउटा आशाको किरण झुल्कियो, जसको नाम हो– अर्जुन थापा। लोक बहादुर थापा र चन्द्रकली थापाका सुपुत्रका रुपमा जन्मिएका अर्जुन आज समाजसेवी र एक आशालाग्दा नेताको रुपमा चिनिन्छन् ।
राजनीति शास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थापा एक अध्ययनशील र दूरदर्शी व्यक्तित्व हुन्। उनको राजनीतिक यात्रा २०५४ सालबाट विद्यार्थी राजनीतिको जगबाट सुरु भएको हो। स्कुलदेखि नै विद्रोही स्वभाव र अन्यायका विरुद्ध बोल्ने उनको साहसले उनलाई क्रमशः नेतृत्वको शिखरमा पुर्याइरहेको छ।
हेम माध्यमिक विद्यालयको अध्यक्षबाट सुरु भएको उनको नेतृत्वदायी भूमिका भक्तपुर क्याम्पसको उपाध्यक्ष हुँदै काठमाडौंको प्रदर्शनी मार्गस्थित प्रतिष्ठित आरआर क्याम्पसको सभापतिसम्म पुग्यो। विद्यार्थी राजनीतिले उनलाई भुइँतहका मानिसका समस्या बुझ्न र ती समस्या समाधानका लागि लड्न सिकाएको उनी बताउँछन् ।
राजनीतिलाई सत्ता प्राप्तिको माध्यम मात्र ठान्नेहरूको भीडमा अर्जुन थापा एउटा अपवाद हुन् । विगत २५–३० वर्षदेखि उनको परिचय एउटा राजनीतिज्ञ भन्दा बढी ‘आशाको दियो’ को रूपमा स्थापित छ।
जब देश कोरोना महामारी र लकडाउनको चपेटामा थियो, अर्जुन थापा सडकमा भोकाएका मुखहरूलाई गाँस दिन सक्रिय थिए। स्वास्थ्य क्षेत्रमा उनले पुर्याएको योगदान पनि उत्तिकै अतुलनीय छ। रगतको अभावमा कोही पनि छटपटिनु नपरोस् भन्ने उद्देश्यले उनले ‘क्विक ब्लड सेन्टर’ मार्फत सयौँलाई जीवनदान दिए ।
शिक्षा क्षेत्रमा उनको लगानीले धेरैको भविष्य उज्ज्वल बनाएको छ। आफ्नै निजी लगानीमा ‘चनलोक शैक्षिक कोष’ स्थापना गरी वार्षिक ३५० भन्दा बढी गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेर उनले म्याग्दीको शैक्षिक विकासमा दरिलो इँटा थपेका छन् ।
समृद्ध म्याग्दी र समाजवादको सपना
म्याग्दी जिल्लाबाट थापा नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार हुन् । उम्मेदवारी किन ? भन्ने प्रश्नको उत्तरमा थापाका स्पष्ट तीनवटा प्राथमिकता छन्— भ्रष्टाचार उन्मूलन, म्याग्दीको समग्र विकास र देशको आर्थिक क्रान्ति।
उनी म्याग्दीको सम्भावनालाई नजिकबाट चिन्छन् । थापा भन्छन्, ‘हाम्रो म्याग्दीमा सुन्तला छ, किबी छ, हाइड्रोको प्रचुर सम्भावना छ। मुस्ताङको प्रवेशद्वार भएकाले पर्यटनको अथाह सम्भावनालाई हामीले आर्थिक क्रान्तिमा बदल्नुपर्छ ।’ उनको दृष्टिमा समाजवाद भनेको केवल भाषण होइन, बरु आम जनताका लागि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता हो ।
पूँजीवादको आडमा मौलाएको विकृतिलाई परास्त गर्दै आम जनताको जीवनस्तर उकास्ने र अन्तर्राष्ट्रिय स्तरमा देशको स्वाभिमान उच्च राख्ने उनको स्पष्ट खाका छ । म्याग्दीको विकासका लागि कायापलट गर्ने सोच बोकेका अर्जुन थापा मर्नुअघि यो देशलाई एक विकसित र भ्रष्टाचारमुक्त राष्ट्रको रूपमा देख्न चाहन्छन् ।
थापा बेथिति, ढिलासुस्तीविरुद्ध खरो उत्रन पनि आफू उम्मेदवार बनेको बताउँछन्। थापा भन्छन् ‘प्रशासनिक कामदेखि विकास निर्माणसम्म ढिलासुस्ती हुँदा म्याग्दी सधैँ पछाडि परिरह्यो, म्याग्दीवासीको सेवकका रूपमा मैले त्यो टुलुटुलु हेरिरहन सकिनँ । त्यसैले यी सबै कुराविरुद्ध खरो उत्रिँदै विकासमा म्याग्दीको कायापलट गर्न उम्मेदवारी दिएको हुँ ।
म्याग्दीको माटोबाट उठेका थापा, वास्तवमै आजको समयमा परिवर्तनका एक सशक्त संवाहक र भविष्यका आशाका केन्द्र हुन् । उनको यात्रा केवल राजनीतिक पदका लागि होइन, बरु समृद्धिको सपना साकार पार्नका लागि समर्पित देखिन्छ ।
अर्जुन थापाको निस्वार्थ सेवाको चर्चा गर्दै पूर्व सचिव तथा सामाजिक अभियन्ता भीम उपाध्याय लेख्छन्, ‘काठमाडौँमा रगत चाहिए सबैले सम्झिने नाम हो अर्जुन थापा। उनी केवल एउटा नेता मात्र होइनन्, हजारौँको ज्यान बचाउने मानवतावादी योद्धा हुन्। उनको सेवाभाव र इमानदारिता राजनीतिमा पनि उत्तिकै आवश्यक छ।’
थापाको परोपकारी कार्यबाट नयाँ जीवन पाएका म्याग्दीका हरिप्रसाद ज्ञवाली भन्छन्, ‘अस्पतालमा अन्तिम अवस्थामा कतै रगत नपाएर छटपटि रहँदा अर्जुन सरले आफ्नै शरीरको रगत दिएर बचाउनुभयो। जसले आफ्नो रगत दिएर अरूको ज्यान बचाउँछ, उसले म्याग्दीको भविष्य पनि पक्कै बचाउनेछ। यस्तो मान्छेलाई हाम्रो सधैँ साथ रहनेछ।’