• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रौतहटमा दुई मोटरसाइकल एकआपसमा ठोक्कियो, दुई जनाको मृत्यु

रौतहट । रौतहटको राजदेवी नगरपालिकामा शुक्रबार दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई युवकको मृत्यु भएको छ ।

बिहान करिब ११ : ४० बजेको समयमा राजदेवी नगरपालिका वडा नं. १ स्थित पथरा स्कुल नजिकै गौर–पिपरा भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो । गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र.२–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बीआर ३० ए एफ २३७० नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले दिउँसो १२ः०० बजे दुवैलाई मृत घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालका अनुसार मृत्यु हुनेमा रौतहट दुर्गाभगवती गाउँपालिका वडा नं. २, पिपरा बजार ३० वर्षीय अशोक महतो र रौतहट राजदेवी नगरपालिका वडा नं. २, हजमिनिया का २९ वर्षीय अरबिन्द महतो रहेका छन् ।

यस घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।