• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

मारवाडी सेवा समिति ७३ वर्ष पूरा

काठमाडौँ । मारवाडी सेवा समिति नेपालको ७३औँ स्थापना दिवस विविध सामाजिक तथा सम्मान कार्यक्रमसहित सम्पन्न भएको छ । समिति स्थापनाको ७३ वर्ष पूरा भएको अवसरमा शनिबार काठमाडौँस्थित मारवाडी सेवा सदनमा विशेष कार्यक्रम आयोजना गरिएको हो ।

स्थापना दिवसको अवसरमा आफ्नो जीवनकालमा समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याएका प्रतिष्ठित समाजसेवी स्व ओम प्रकाश गोयल, स्व नागरमल अग्रवाल र स्व तोलाराम दुगडलाई मरणोपरान्त सम्मान गरिएको थियो । साथै, ज्येष्ठ महिला सदस्य मनावती देवी अग्रवाल (चैनवाला), पाना देवी अग्रवाल (मित्तल), गीता देवी शर्मा, सितादेवी लोहिया, गायत्री देवी अग्रवाल तथा ज्येष्ठ पुरुष सदस्य मोहन लाल अग्रवाल (चचान), बजरंगलाल सराफ, परमेश्वरलाल अग्रवाल (चचान), चिरञ्जीविलाल अग्रवाल र धनराज गिडियालाई सम्मान गरिएको थियो ।

कार्यक्रम मारवाडी युवा मञ्च र मारवाडी महिला मञ्चको सहकार्यमा आयोजित रक्तदान कार्यक्रमसहित सम्पन्न भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले मारवाडी सेवा समिति नेपाल स्थापना कालदेखि नै समाजसेवामा निरन्तर सक्रिय रहँदै आएको बताए । उनले प्राकृतिक विपद्का समयमा सरकार तथा विभिन्न संघ–संस्थासँग समन्वय गरी राहत, खाना, औषधि वितरण, पशुपति गौशाला धर्मशालामार्फत गाई संरक्षण, तीर्थयात्रीहरूलाई आवास सुविधा, निःशुल्क कृत्रिम खुट्टा तथा नेपाल सरकारको विपन्न स्वास्थ्य कोष अन्तर्गत निःशुल्क डायलाइसिस सेवा प्रदान हुँदै आएको जानकारी दिए ।

उनले नेपालमै पहिलो पटक निःशुल्क शव वाहन सेवा सञ्चालन गरिएको उल्लेख गर्दै जनआन्दोलनका क्रममा सवारी साधन जलेर नष्ट भएकाले सेवा हाल स्थगित रहेको र पुनः सेवा सञ्चालनका लागि पहल भइरहेको बताए । साथै, संस्थाका संस्थापक, दाता तथा विभिन्न समयमा योगदान पुर्‍याउने अग्रजहरूको योगदान स्मरण गर्दै समाजको हितमा निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले नेपालमा परोपकारको क्षेत्रमा मारवाडी समुदायको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै मारवाडी सेवा समिति नेपालले सञ्चालन गरेका सामाजिक सेवामा बागमती प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्न आफू सधैँ तयार रहने बताए ।

विशिष्ट अतिथि रेवित कुमारले मारवाडी सेवा समिति नेपाल तथा पशुपति गौशाला धर्मशालाबाट प्रदान गरिँदै आएका सेवा कार्यहरू प्रशंसनीय रहेको बताउँदै यस्ता सामाजिक सेवामा लाग्न आजको पुस्तालाई आग्रह गरे ।

यसैबिच, स्थापना दिवसको पूर्वसन्ध्यामा २०८२ पौष ९ गते १६ वर्षसम्मका बालबालिकाका अभिभावकहरूका लागि सहप्राध्यापक डा. पवन शर्माद्वारा “डिजिटल युगमा आफ्ना बालबालिकाहरुप्रति सचेत अभिभावकको भूमिका” विषयमा टक शो कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।