काठमाडौँ । सोमबार रातिदेखि मौसम बदली भई मंगलबार र बुधबार नेपालका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसमविद् विनोद पोखरेलका अनुसार भोलि (मंगलबार) बेलुकादेखि बुधबारसम्म नेपालको धेरै ठाउँमा वर्षा हुने राम्रो सम्भावना देखिएको छ ।
यो यस वर्षको दोस्रो हिउँदे वर्षा हुने प्रक्षेपण गरिएको छ । यसअघि गएको शुक्रबार र शनिबार मौसम बदली भएर पश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपात भएको थियो ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबार रातिदेखि नै पश्चिमी भेगबाट बादल लाग्न सुरु हुनेछ । यसको प्रभावले मंगलबारदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
मौसमविद् पोखरेलका अनुसार यो मौसमी प्रणाली बुधबारसम्म बागमती र कोशी प्रदेशसम्म फैलिनेछ । जसका कारण देशका धेरै ठाउँमा हल्का वर्षा र हिमपात हुने अनुमान छ । पूर्वी नेपालमा पनि हल्का वर्षाको सम्भावना रहे पनि पूर्वी तराईमा भने वर्षाको सम्भावना न्यून देखिएको छ ।
काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ । यो प्रणाली बुधबार बेलुकीदेखि क्रमशः कमजोर बन्दै जाने र मौसममा सुधार आउनेछ । सोमबार दिनभर भने कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहने तथा लुम्बिनी र गण्डकीका बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।