• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भारतीय राजदूतावासमा भारतको ७७औँ गणतन्त्र दिवस मनाइयो

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ७७औँ गणतन्त्र दिवस मनाइएको छ।

कार्यक्रमको सुरुआत कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेपछि भएको थियो। त्यसपछि ७७औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो प्रस्तुत गरियो।

सो अवसरमा कार्यवाहक राजदूत पाण्डेले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती तथा निकटतम नातेदारलाई सम्मान गरे। उनले कुल ७.२ करोड नेपाली रुपैयाँ बराबरको आर्मी ग्रुप इन्स्योरेन्स फन्ड (एजीआईएफ) का चेकहरू हस्तान्तरण गरे।

कार्यक्रममा विगत एक वर्षमा भारत–नेपाल सम्बन्धमा भएको महत्वपूर्ण प्रगतिलाई समेटिएको भिडियो पनि प्रस्तुत गरिएको थियो। साथै राजदूतावासअन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी तथा शिक्षकहरू र नेपाली कलाकारहरूले नृत्य तथा सांगीतिक प्रस्तुति दिएका थिए।

काठमाडौँमा आयोजित भारतको ७७औँ गणतन्त्र दिवस समारोहमा भारतीय समुदायका सदस्यहरू, नेपालमा रहनुभएका भारतका मित्रहरू तथा दूतावासका अधिकारीहरू र उनीहरूका परिवारको उल्लेख्य सहभागिता रहेको थियो।