बिहानको ओपीडी बिरामीको लामो लाइन । एकजना सेवाग्राही मुस्कानसाथ भित्र आउनुहुन्छ र भन्नुहुन्छ, ‘डाक्टर साब, म त बीमाको ३५०० तिरेको नि छु केही जाँच गरेको नै छैन, लौन ! आज भिटामिन डी, भिटामिन बी १२ र थाइराइड पनि जाँच गरिदिनुस् न । खासै समस्या त छैन, मन लागेर आएको।’
म केही क्षण मौन हुन्छु। मेरो अगाडि दुईवटा जिम्मेवारी ठोक्किन्छन्,
– एकातिर बिरामीको अपेक्षा ।
– अर्कोतिर चिकित्सा विज्ञान र बिमा नीतिको नियम ।
मैले नम्र हुँदै सम्झाउने प्रयास गरेँ, ‘यी जाँचहरू अहिले तपाईंको लक्षणसँग सम्बन्धित देखिँदैनन् नि हजुर ! पछि समस्या देखिए वा आवश्यक परे जाँचौँला नि, हस् ?’
मेरो जवाफ सुन्नासाथ उहाँको अनुहारको मुस्कान गायब भयो। त्यसपछि सुरु भयो प्रश्न र गुनासोको वर्षा:
–‘अनि बीमा किन तिरेको त?’
–‘यहाँ त जाँचै नगर्ने रहेछन्!’
–‘अरू अस्पतालका डाक्टरले त मागेपछि फ्याट्ट लेखिदिन्छन् त!’
कतिपय अवस्थामा त यस्ता संवादहरू झनै तिक्त बन्छन्। सेवाग्राहीले ओपिडीको टिकट डाक्टरकै मुखैमा फालेर ‘अस्पतालले दुःख दियो’ भन्दै बदनाम गर्नेसम्मका परिस्थिति हामीले झेल्दै आएका छौँ ।
यथार्थ के हो ?
नेपालको स्वास्थ्य बीमा प्रणाली ‘मन लागेको जाँच गरिदिने व्यवस्था” होइन। बिमा बोर्डको स्पष्ट नियम छ,
– जसमा केवल चिकित्सकीय रूपमा आवश्यक जाँचहरू मात्र बिमाले भुक्तानी गर्छ।
यसको अर्थ: भिटामिन डी, भिटामिन बी १२ र थाइराइड आदि जाँच सबै बिरामीलाई नियमित रूपमा लेख्न मिल्दैन । लक्षण, रोगको शंका, वा गाइडलाइन अनुसार आवश्यक ठहरे मात्र मिल्छ ।
यदि डाक्टरले अनावश्यक जाँच लेखिदियो भने,
– बिमा बोर्डले भुक्तानी अस्वीकार गर्छ ।
– अस्पतालले रकम पाउँदैन ।
– डाक्टरलाई स्पष्टीकरण सोधिन्छ ।
– प्रणाली कमजोर बन्छ ।
हाल स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई स्पष्ट निर्देशन दिएको छ— जस्तै लक्षणसँग असम्बन्धित, गाइडलाइन विपरीत ‘बिरामीको इच्छा अनुसार” जाँच नलेख्नू । यो निर्देशन बिरामी विरुद्ध होइन बरु बिमा प्रणाली बचाउनका लागि पनि हो ।
बुझ्नु पर्ने कुरा डाक्टरको काम जाँच लेखिदिनु मात्र नभयर, किन चाहिन्छ, किन चाहिँदैन बुझाउनु पनि हो भने बिरामीको अधिकार सही उपचार पाउनु र स्पष्ट जानकारी पाउनु हो ।
मैले बुझे अनुसार यो समस्या न्युनीकरण गर्न,
– बिरामीलाई शिक्षा दिएर बिमाको दायरा बुझाउने ।
– डाक्टर–बिरामी संवादमा दुवैले समय लिएर शान्त रूपमा सम्झाउने ।
– बिमा नीति स्पष्टता । जसमा अस्पतालमा सूचना बोर्ड/ पम्लेट राखेर बुझाउने ।
अन्त्यमा, ओपीडीमा बसेको डाक्टर, बिरामीको शत्रु होइन । उहाँ नियम र विज्ञानको बीचमा उभिएको एक जिम्मेवार कर्मचारि हो । यदि आज अनावश्यक जाँच रोकिएन भने, भोलि साँचो बिरामीले पाउनुपर्ने सेवा नै बन्द हुन सक्छ । बिमा बचाउनु भनेको—सबैको स्वास्थ्य बचाउनु हो ।
–लेखक केसी धौलागिरी प्रादेशिक अस्पतालका मेडिकल अफिसर हुन् ।