• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

इरानमाथि अमेरिकी हमलाका ७ सम्भावित नतिजाहरू

यतिबेला विश्वकै ध्यान मध्य-पूर्वमा केन्द्रित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीबीचको सम्बन्ध यति तिक्त बनेको छ कि जुनसुकै बेला युद्धको विगुल फुकिन सक्छ।

यदि अमेरिकाले इरानमाथि सैन्य हमला गर्ने अन्तिम निर्णय गर्‍यो भने त्यसको नतिजा के होला ? बीबीसीका रक्षा संवाददाता फ्र्याङ्क गार्डनरको विश्लेषणमा आधारित रहेर इरान-अमेरिका युद्धका सात सम्भावित भयानक नतिजाहरू यहाँ प्रस्तुत गरिएको छ:

१. सर्वसाधारण जोगाएर निश्चित लक्ष्यमा ‘सर्जिकल स्ट्राइक’ र लोकतन्त्रतर्फको कदम

अमेरिकी योजनाअनुसार पहिलो सम्भावित नतिजा भनेको इरानका सैन्य अखडा र परमाणु केन्द्रहरूमा ‘सटीक हमला’ (सर्जिकल स्ट्राइक) गर्नु हो। अमेरिकाको आशा छ, यस्तो हमलाले इरानको अहिलेको कट्टरपन्थी सरकार ढाल्नेछ र त्यहाँ वास्तविक लोकतन्त्र स्थापना हुनेछ। तर, विगतमा इराक र लिबियामा गरिएका यस्तै हस्तक्षेपले लोकतन्त्र भन्दा बढी रक्तपात र अराजकता निम्त्याएको इतिहास छ। त्यसैले यो नतिजा जति सुखद सुनिन्छ, त्यति नै चुनौतीपूर्ण छ।

२. शासन जोगिने तर स्वभाव बदलिने

यसलाई ‘भेनेजुएला मोडल’ पनि भन्न सकिन्छ। यसमा अमेरिकी आक्रमणपछि पनि इरानको सरकार त जोगिन्छ, तर उसले आफ्नो स्वभाव बदल्न बाध्य हुनुपर्नेछ। इरानले मध्य-पूर्वका विद्रोही समूहलाई दिने सहयोग रोक्नुपर्नेछ र आफ्नो मिसाइल कार्यक्रम कटौती गर्नुपर्नेछ। यद्यपि, ४७ वर्षदेखि आफ्नो अडानमा टसको मस नभएको इरानी नेतृत्वले सजिलै बाटो बदल्ने सम्भावना भने निकै कम छ।

३. सैन्य शासनको उदय

धेरै विश्लेषकहरू इरानमा सैन्य शासन आउने सम्भावनालाई सबैभन्दा बढी देख्छन्। अहिलेको सरकार सर्वसाधारणमा अलोकप्रिय भए पनि त्यहाँको सुरक्षा संयन्त्र निकै शक्तिशाली छ। यदि युद्धका कारण अहिलेको राजनीतिक नेतृत्व असफल भयो भने, शक्ति शून्यताको फाइदा उठाएर सेनाले सत्ता कब्जा गर्न सक्छ। यसले इरानलाई झन् कठोर सैन्य शासनतर्फ धकेल्न सक्छ।

४. छिमेकी देशहरूमाथि इरानी बदला

इरानले स्पष्ट भनिसकेको छ, उसको ‘औँला ट्रिगरमा छ’। अमेरिकाको विशाल नौसेनासँग सीधा लड्न नसके पनि इरानले कतार, बहराइन र जोर्डन जस्ता देशमा रहेका अमेरिकी सैन्य आधार इलाकाहरूमा मिसाइल र ड्रोन वर्षाउन सक्छ। यसले गर्दा अमेरिकाका छिमेकी सहयोगी राष्ट्रहरू अहिले निकै त्रसित छन्। उनीहरूलाई डर छ कि अमेरिका र इरानको लडाइँमा आफैँ ‘बलीको बोको’ बन्नुपर्ने त होइन?

५. तेलको हाहाकार र विश्वव्यापी महँगी

इरान सन् १९८०-८८ को इरान-इराक युद्धदेखि नै विश्वव्यापी ढुवानी र तेल आपूर्तिका लागि एक सम्भावित खतरा बनेको छ, जब इरानले वास्तवमै सिपिङ लेनमा माइन बिछ्याएको थियो र रोयल नेभीका माइनस्वीपरहरूले तिनलाई हटाउन सहयोग गरेका थिए। इरान र ओमानका बीचमा रहेको होर्मुजको साँगुरो जलडमरूमध्य एक महत्त्वपूर्ण ‘चोकपोइन्ट’ हो। विश्वको लगभग २०% तरल प्राकृतिक ग्यास निर्यात र २०-२५% तेल र तेल उत्पादनहरू हरेक वर्ष यही बाटो भएर जान्छन्।

इरानले समुद्रमा तीव्र गतिमा माइन बिछ्याउने अभ्यास गरेको छ। यदि उसले यसो गर्छ भने यसको असर निश्चित रूपमा विश्वको व्यापार र तेलको आपूर्ति तथा मूल्यमा पर्नेछ। यदि इरानले यो बाटो बन्द गरिदियो भने विश्वभर तेलको मूल्य ह्वात्तै बढ्नेछ र त्यसको सिधा असर नेपाल जस्ता देशको भान्सासम्म पुग्नेछ।

६. अमेरिकी युद्धपोतमाथि सामूहिक आक्रमण

इरानी नौसेनाले अमेरिकी जहाजहरूलाई डुबाउन ‘स्वार्म अट्याक’ अर्थात् सामूहिक आक्रमणको रणनीति अपनाउन सक्छ। यसमा धेरै संख्यामा साना तर तीव्र गतिका विस्फोटक डुङ्गा र ड्रोनहरूले एकैसाथ अमेरिकी युद्धपोतमाथि हमला गर्छन्। यदि एउटा मात्र अमेरिकी जंगी जहाज डुब्यो र अमेरिकी सैनिकहरू समातिए भने, त्यो अमेरिकाका लागि ठूलो बेइज्जती र रणनीतिक हार हुनेछ।

७. गृहयुद्ध र मानवीय सङ्कट

सबैभन्दा डरलाग्दो सम्भावना भनेको इरानमा गृहयुद्ध सुरु हुनु हो। ९ करोडभन्दा बढी जनसङ्ख्या भएको इरानमा सरकार ढलेपछि त्यहाँका विभिन्न जातजाति र अल्पसङ्ख्यक समूहबीच सशस्त्र संघर्ष सुरु हुन सक्छ। यसले सिरिया वा यमनमा जस्तै ठूलो मानवीय सङ्कट र शरणार्थी समस्या पैदा गर्नेछ। मध्य-पूर्वको सबैभन्दा ठूलो देश अराजकतामा डुब्नु भनेको पूरै विश्वका लागि खतराको घन्टी हो।