काठमाडौँ । इरानमा विकसित पछिल्लो राजनीतिक र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका र जान चाहने नेपाली नागरिकहरूका लागि ‘ट्राभल एड्भाइजरी’ (भ्रमण सुझाव) जारी गरेको छ।
आइतबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्थिति सामान्य नभएसम्म इरान भ्रमणको योजना नबनाउन नेपाली नागरिकहरूलाई अनुरोध गरेको हो। साथै, रोजगारी वा अन्य सिलसिलामा इरानमा रहेका नेपालीहरूलाई पनि यथाशक्य चाँडो कुनै पनि माध्यमबाट स्वदेश फर्कन वा सुरक्षित स्थानतर्फ जान सुझाव दिइएको छ।
मन्त्रालयले भनेको छ, ‘पछिल्लो विकसित घटनाक्रमका कारण अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इरान भ्रमण नगर्न अनुरोध गरिन्छ। त्यसैगरी, हाल इरानमा बसोबास गर्दै आएका नेपालीहरूलाई पनि उपलब्ध भएसम्मका माध्यम प्रयोग गरी चाँडोभन्दा चाँडो इरान छाड्न सुझाव दिइन्छ।’
कुनै पनि समयमा आपतकालीन अवस्था आउन सक्ने भन्दै मन्त्रालयले त्यहाँ रहेका नेपालीहरूलाई आफ्नो राहदानी (पासपोर्ट), परिचयपत्र लगायतका महत्वपूर्ण कागजातहरू तयारी अवस्थामा राख्न समेत सचेत गराएको छ। थप समन्वय र सहयोगका लागि कतारको दोहास्थित नेपाली दूतावास वा काठमाडौँस्थित परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।
इरानमा डिसेम्बर २८ देखि बढ्दो महँगी, मुद्रास्फीति र सरकारको आर्थिक नीतिको विरोधमा देशभर प्रदर्शन भइरहेको छ। सुरूमा आर्थिक मुद्दाबाट सुरु भएको यो आन्दोलन अहिले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको राजीनामा माग गर्ने राजनीतिक स्तरसम्म पुगेको छ। प्रदर्शनका क्रममा कैयौँ मानिस मारिएको समाचारहरू सार्वजनिक भए पनि इरान सरकारले मृत्यु हुनेको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छैन।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीहरूको पक्षमा समर्थन जनाउँदै उनीहरूमाथि दमन भए अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। इरानले भने यसलाई आफ्नो आन्तरिक मामिला भन्दै बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताएको छ। सर्वोच्च नेता खामेनीले हिंसात्मक प्रदर्शनकारीहरूलाई ‘आतङ्ककारी’ को संज्ञा दिँदै परिस्थिति नियन्त्रणमा लिन कडा कदम चालिने बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शक्ति राष्ट्रहरूको स्वार्थ र हस्तक्षेपका कारण इरानको स्थिति थप जटिल बन्दै गएको छ।