• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

आईसीसी टी–२० विश्वकप तयारी: क्यानडाविरूद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौँ । आइसीसी टी–२० विश्वकपको तयारीस्वरूप खेलिएको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडामाथि ६ विकेटको जित निकालेको छ। भारतको चेन्नाइस्थित एमए चिदम्बरम रंगशालामा बिहीबार सम्पन्न खेलमा नेपालले १६२ रनको लक्ष्य १८ ओभरमै ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

लक्ष्य पछ्याउने क्रममा ओपनर आसिफ शेखले आक्रामक ब्याटिङ गर्दै अर्धशतकीय इनिङ्स खेले। उनले २९ बलमा ६ चौका र ३ छक्कासहित ५८ रन बनाएर रिटायर्ड आउट भए। सन्दीप जोराले ३० बलमा ४ चौका र १ छक्काको सहयोगमा ४४ रन जोडे भने गुलशन झा ३१ रनमा अविजित रहे। कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले क्रमशः १२ र ९ रनको योगदान दिए।

क्यानडाका तर्फबाट जास्करन सिंह, अजयवीर हुन्डाइ र साद बिन जाफरले एक–एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन बनाएको थियो। नवनित धलिवालले सर्वाधिक ४१ रन जोडे भने श्रेयस मोव्वाले अविजित ३८ रनको योगदान दिए। कन्वरपाल ताथगुरले २५ रन बनाउँदा जास्करन सिंहले ११ बलमा तीन छक्का प्रहार गर्दै २१ रन जोडे। निकोलस किर्तोनले १० रन बनाए।

नेपालका बलरहरू पनि प्रभावकारी देखिए। सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई–दुई विकेट लिँदा सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट हात पारे।

यसअघि नेपालले यूएईविरुद्धको अभ्यास खेलमा पनि ७ विकेटको जित हासिल गरेको थियो। समूह ‘सी’ मा रहेको नेपालले अब फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्दै टी–२० विश्वकपको अभियान सुरु गर्नेछ। उक्त समूहमा इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै स्कटल्यान्ड र इटाली रहेका छन्।