काठमाडौँ । नेपालको अग्रणी निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकहरूका लागि यो अत्याधुनिक ‘ई-सिम’ (eSIM) सेवा उपलब्ध गराइरहेको छ। तर, धेरै ग्राहकहरू अझै पनि ई-सिम के हो र यसलाई कसरी प्रयोग गर्ने भन्नेमा अन्यौलमा छन्।
ई-सिम अर्थात् ‘इम्बेडेड सिम’ कुनै प्लास्टिकको कार्ड नभएर तपाईंको मोबाइल फोनभित्रै रहने एउटा सानो डिजिटल चिप हो। यसले सामान्य सिमकार्डले जस्तै काम गर्छ, तर यसलाई फोनबाट बाहिर निकाल्न वा भित्र हाल्न मिल्दैन। यो प्रविधिको विकाससँगै सिमकार्ड हराउने, बिग्रने वा मोबाइल साट्दा सिम निकाल्न पिन खोज्दै हिँड्नुपर्ने झन्झट सधैँका लागि अन्त्य भएको छ।
विशेषगरी सुरक्षाका दृष्टिकोणले पनि ई-सिम निकै भरपर्दो मानिन्छ। यदि तपाईंको फोन हरायो वा चोरी भयो भने पनि चोरले भौतिक सिम जस्तै यसलाई झिकेर फाल्न सक्दैन, जसले गर्दा हराएको फोन ट्रयाक गर्न र फेला पार्न निकै सजिलो हुन्छ।
डिजिटल रूपान्तरणको यो यात्राबारे एनसेलका प्रतिनिधि भन्छन्, “हामी हाम्रा ग्राहकलाई विश्वस्तरीय प्रविधिसँग जोड्न सधैँ तत्पर छौँ। ई-सिम केवल एउटा नयाँ प्रविधि मात्र नभई यो सुरक्षित र सहज सञ्चारको भविष्य पनि हो। भौतिक सिमकार्डको झन्झट हटाउँदै ग्राहकलाई ‘डिजिटल फस्ट’ अनुभव प्रदान गर्नु नै हाम्रो मुख्य उद्देश्य हो। यसले गर्दा ग्राहकले एउटै सेटमा धेरै प्रोफाइल प्रयोग गर्न सक्ने र विदेश भ्रमणका बेला पनि बिना झन्झट रोमिङ सेवा लिन सक्ने सुविधा पाउँछन्।”
एनसेलको यो अत्याधुनिक सेवा लिन चाहने ग्राहकले केही सरल प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ। सिमकार्डको वास्तविक धनीले आफ्नो सक्कल परिचयपत्र (नागरिकता, राहदानी, वा राष्ट्रिय परिचयपत्र) लिएर नजिकैको एनसेल सेन्टर भ्रमण गरेपछि एनसेलका कर्मचारीले विवरण रुजु गरी भौतिक सिमलाई ई-सिममा बदलिदिनेछन्।
यसरी सिम अपग्रेड गर्दा १०० रुपैयाँ शुल्क लाग्छ भने नयाँ ई-सिम लिन चाहनेले प्रचलित दरमै यो सेवा प्राप्त गर्न सक्छन्। कम्पनीका अनुसार कर्पोरेट ग्राहकहरूले भने कम्पनीको आधिकारिक लेटरहेडमा पत्र र छापसहित अनुरोध गरेर वा आफ्ना एकाउन्ट म्यानेजरमार्फत यो प्रक्रिया अघि बढाउन सक्छन्।
यद्यपि, सबै स्मार्टफोनमा यो सेवा चल्दैन। आफ्नो मोबाइल ई-सिमका लागि योग्य छ कि छैन भनेर जाँच्न ग्राहकले डायल प्याडमा गएर *#०६# थिच्नुपर्छ। यदि त्यहाँ EID नम्बर देखिन्छ भने मात्र उक्त फोनमा ई-सिम चल्छ। विशेषगरी आइफोनका पछिल्ला सिरिज, सामसुङका एस-सिरिज र गुगल पिक्सेल जस्ता महँगा सेटहरूमा यो सुविधा उपलब्ध छ। तर विदेशबाट ल्याइएका ‘क्यारियर लक’ भएका फोनहरूमा भने यो सेवा नचल्ने भएकाले प्रयोगकर्ताले आफ्नो फोन ‘सिम रेस्ट्रिक्सन’ मुक्त रहेको सुनिश्चित गर्नुपर्छ।
कतिपय ग्राहकमा ई-सिम लिएपछि कल दर महँगो हुने वा पछि भौतिक सिममा फर्कन नमिल्ने हो कि भन्ने संशय पनि देखिन्छ। तर एनसेलले ई-सिममा पनि विद्यमान प्लान अनुसारकै दर कायम गरेको छ। यदि कुनै ग्राहकलाई ई-सिम मन परेन वा फोन परिवर्तन गर्दा भौतिक सिम नै चाहियो भने फेरि निर्धारित शुल्क तिरेर पुरानै ‘युसिम’ (USIM) मा फर्कन सकिने सुविधा पनि कम्पनीले दिएको छ। प्रविधिको यो नयाँ स्वाद चाख्न चाहने र सिमकार्डको भौतिक झन्झटबाट मुक्त हुन चाहनेहरूका लागि एनसेलको ई-सिम एक उत्कृष्ट डिजिटल उपहार हो ।